
पोखरा स्पोर्टस । एसिसी वुमेन्स प्रिमियर कप २०२४ मा सहभागि हुने राष्ट्रिय महिला क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिब टंकलाल घिसिङले भेटेर शुभकामना दिएका छन् । मलेसियामा आगामी फेव्रुअरी १० बाट हुने एसिसी वुमेन्स प्रिमियर कप २०२४ मा बन्द प्रशिक्षणमा रहेको टोलीलाई भेटेर सदस्य सचिव घिसिङले शुभकामना दिएका हुन् ।
पोखराको एक कार्यक्रममा सहभागि हुन आएका सदस्य सचिव घिसिङले प्रतियोगिताको तयारीमा जुट्न आग्रह गर्दै नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा पाएको सफलताले उचाई थपिएको बताए । उनले भने–“अहिले खेलकुदमा क्रिकेटको उचाई थापिएको छ । एक पछि अर्को गर्दै पाएको सफलताले हामी सबैको मन पनि जितेको छ । यहाँहरुले पनि त्यो अपेक्षालाई अझै शिखरमा उठाउने गरी मेहनत गरेर खेल्नुहोस शुभकामना छ ।”

यसै क्रममा पोखरा क्रिकेट मैदानमा निर्माणाधिन पेभिलियनको समेत निरिक्षण गरेका छन् ।
एसीसी वुमन्स प्रिमियर कप टी २० फर्म्याटमा आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुनेछ । प्रतियोगितामा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, थाइल्याण्ड, युएई, हङकङ, चीन, म्यानमार, इन्डोनेसिया, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स सहभागि हुनेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा हुने महिला टि २० एसिया कप खेल्न पाउनेछन् ।
इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला राष्ट्रिय टोलीमा बिन्दु रावल, रुबिना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, सबनम राई, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डली भट्ट, अश्मिना कर्माचार्य, सोनी पाख्रिन, एसोदा विष्ट, खुशी डंगोल, रोमा थापा, सोमु विष्ट, ममता चौधरी, पुजा महतो, आरती महतो, ज्योत्स्निका मरासिनी र लक्ष्मी चौधरी रहेका छन् । ज्योत्स्निका गण्डकी प्रदेशकी हुन् । उनी पहिलो पटक २४ सदस्यिय स्क्वाडमा छिन् ।
महिला राष्ट्रिय टोली यहि माघ १ गते पोखरा आएको हो । टिम प्रशिक्षक मनोज कटुवालका अनुसार नेपाली राष्ट्रिय टोलीका फिटनेश ट्रेनर अब्दुल सतार आज पोखरा आउने भएका छन् । फिटनेश प्रशिक्षक सतारले भोली खेलाडीहरुको फिटनेश परिक्षण गर्ने जनाउँदै माघ ८ गते १८ सदस्यिय टोलीको घोषणा समेत गरिने कटुवालले बताए ।
