
पोखरा स्पोर्टस । पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिताका लागि जापानबाट आर्थिक सहयोग आउने भएको छ ।
साविक पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघका संस्थापक अध्यक्ष श्री गुरुङको सक्रियतामा संकलित उक्त सहयोग रकम आउने भएको हो । संस्थापक अध्यक्ष गुरुङका अनुसार चौथो संस्करणको टाइगर कपका लागि नगद रु ३ लाख २५ हजार सहयोग रकम संकलन भएको पोखरा स्पोर्टसलाई जानकारी दिएका हुन् ।
टाइगर ग्रुप अफ पोखरा नेपाल जापान शाखाका संस्थापक संरक्षक तथा नेपाल जापान भलिबल संघका सल्लाहकार समेत रहेका गुरुङले उक्त रकम चौथो टाइगर कप समापनका अवसरमा आयोजकलाई हस्तान्तरण गरिने पोखरा स्पोर्टसलाई बताए ।
विभिन्न सामाजिक संस्थामा आवद्ध समेत रहेका संस्थापक अध्यक्ष गुरुङले उक्त रकम जापानस्थित विभिन्न सामाजिक व्यक्तित्वहरु तथा खेलप्रेमीहरुले प्रदान गरेको बताए । उनले भने–“जो जसले चौथो टाइगर कप भलिबल प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नु भएको छ म उहाँहरु प्रति आभारी छु । सहयोगी मनहरुकै कारण भब्यताका साथ चौथो सस्करणको हामी समापनको अवसरमा आएका छौं । म प्रतियोगिताको भब्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।”
आफू जापानमा रहेर पनि चौथो टाइगर कपलाई नजिकबाट नियालीरहेको जनाउँदै उनले भने–“म आफू जहाँ भए पनि संधै खेलकुदका लागि सहयोग गर्ने जनाउँदै हामी विदेशमा बस्नेहरु नेपालको खेलकुदको विकास चाहन्छौं । हामी सबैले एक छाक काटेर भए पनि केही होस भन्ने चाहना भएकोले नै सहयोग गर्न सबैको सक्रियता रह्यो ।”
यस्तै प्रतियोगिताहरुले राष्ट्रिय खेलको भलिबल खेलको विकासमा कोशे ढुङ्गा सावित हुने जनाउँदै टाइगर कप भलिबल गण्डकी प्रदेशको सानको रुपमा स्थापित भएको संस्थापक अध्यक्ष गुरुङले बताए । “म सबै प्रति एक पटक आभार व्यक्त गर्दै उपाधि भिडन्तमा पुगेका टिम तथा खेलाडीहरुलाई अग्रिम शुभकामना व्यक्त गर्दछु”, उनले भने ।
