
पोखरा स्पोर्टस । नेपाल भलिबल संघको सातौ पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ ।
संघको शुक्रबार सम्पन्न बैठकले विभिन्न निर्णय गर्दै संघको उपाध्यक्षमा भरत बहादुर शाह, यूवराज श्रेष्ठ र श्रीराम बोगोटीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
संघका उपाध्यक्ष याम बहादुर गुरुङका अनुसार संघको केन्द्रिय कार्यसमिति सदस्यमा छ्याम बहादुर थापा (गण्डकी), निलम बज्रचार्य (बाग्मती), रमा शंकर चौधरी (मधेश प्रदेश), डम्बर लिम्बु (कोशी), किशोर आचार्य (कर्णाली) र शैलेन्द्र शर्मा (लुम्बिनी)लाई मनोनयन गरेको छ । यसै गरी बैठकले पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी रेशम गुरुङलाई सल्लाहकारमा मनोनयन गरेको छ ।
संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको अध्यक्षतामा सम्पन्न बैठकले माघ ७ गते पोखरामा नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भेला गरी राष्ट्रिय रेफ्रि कमिशन गठन गर्ने निर्णय गर्नुका साथै आगामी अगस्टमा काभा महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आयोजना गर्ने जनाएको छ भने चैत्रमा महिला तथा पुरुष राष्ट्रिय भलिबल लिग आयोजना गर्ने निर्णय समेत गरेको उपाध्यक्ष गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
सम्पन्न बैठकले महासचिब रोशन श्रेष्ठ र कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरेको छ ।
संघको आठौं पूर्ण बैठक फागुन ७ गते जनकपुरमा गर्ने समेत निर्णय गरेको छ ।
