
केशव पाठक/ पोखरा स्पोर्टस । सहाशिक खेलकुदलाई हिमाल देखि तराई सम्म जोड्दै गन्तव्यको रुपमा विकास गर्न प्रदेश खेलकुद परिषद गण्डकीले सुरु गरेको अभियानमा नवलपुर समेत थपिने भएको छ ।

परिषदले दुई दिन लगाएर नवलपुर जिल्लाको नारायणी नदीमा कायाकिङ खेलको सफल परिक्षण गरे संगै सहाशिक खेलकुदको गन्तव्यको रुपमा अघि बढ्ने भएको हो । प्रदेशको ११ जिल्ला मध्ये एक मात्र तराईको जिल्ला नवलपुर हुँदै बग्ने नारायणी नदीलाई खेलकुदका लागि भरपुर प्रयोग गर्न परिषदले पहिलो पटक सहाशिक खेलको रुपमा रहेको कायाकिङ खेलको सफल परिक्षण सम्पन्न गरे संगै स्थानियहरु समेत् उत्साहित बनेको कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका छन् ।
परिक्षण सफल भएको जानकारी दिंदै कार्यालय प्रमुख भुसालले भने–“हामीले अन्यौलताका बिच नै यो परिक्षणका लागि आएका थियौं । तर त्यसको परिणाम उत्कृष्ट आएको छ”, प्राविधिकहरुको भनाईलाई उद्धृत गर्दै उनले भनेका छन्–“परिक्षण स्थल नेपालमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरका गतिविधी समेत् गर्न सकिने भएको छ ।” परिषदका सदस्य सचिव श्रीधर शर्मा ज्यूले पटक पटक यसको अध्ययनका लागि जोड दिनु भएको थियो । उहाँको निर्देशन अनुसार टोली परिक्षणका लागि आएको हो”–उनले भने ।
परिषदका सदस्य एवं परिषदका तर्फबाट सहाशिक खेलकुदका संयोजक समेत रहेका बसन्तराज दवाडीसहितको टोलीले गरेको अध्ययनको निस्कर्ष सोमबार सम्म आउने भए पनि अध्ययनमा गएको परिक्षणस्थल कायाकिङ खेलका लागि उत्कृष्ट गन्तव्य रहेको बताए । उनले भने–“नेपाल आफै पनि सहाशिक खेलकुदका लागि ठूलो रंगशाला हो । हिमाल, पहाड, तराई, ताल, नदी वा चट्टान यूक्त भिर सबै सहाशिक खेलकुदका गन्त्व्य बन्न सक्छन् । हामी यहि गण्डकीमा रहेर पनि नारायणी नदीको लाभ खेलकुदको माध्यमबाट लिन सकेका थिएनौ । तर प्रारम्भिक परिक्षणले त्यो कुरालाई पुष्टि गरेको छ ।”
परिक्षणका लागि गएका नेपाली र्याफटिङ तथा क्यानोइङ खेलका मुख्य प्रशिक्षक तथा अन्तर्राष्ट्रिय खेलाडी निम बहादुर मगरले परिक्षणस्थललाई यथासिघ्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुको लागि सूचिकृत गर्नुपर्ने बताए । “परिक्षणस्थल कायाकिङ खेलका लागि निकै उत्कृष्ट छ । यसलाई सूचिकृत गर्दै अघि बढेमा यो ठाउँ अन्तर्राष्ट्रिय खेलका लागि समेत आकर्षणको केन्द्र बन्न सक्छ”, उनले भने ।
टोलीले नवलपुरको कावासोती नगरपालिकाको अमलटारी घाटबाट मध्यविन्दु नगरपालिकाको नन्दपुर सम्म अन्तिम ७ किमि क्षेत्रलाई कायाकिङ खेलको रुपमा विकास गर्न सकिने प्राविधिक समितिका संयोजक समेत् रहेका मगरले बताए । उनले उक्त क्षेत्र फ्ल्याट वाटर र सेल वाटर दुबैका लागि उपयूक्त रहेको उल्लेख गरे । उनले भने–“नेपाली नदीहरु वाटर स्पोर्टसका लागि विश्वभर नै उत्कृष्ट गन्तब्यको रुपमा रहे पनि योजना बिना नै ल्याइएका विद्युतका ड्यामहरुले सकिने अवस्थामा छन् । जसका कारण हजारौको रोजगारी गुमेको मात्रै छैन खेलाडीहरु पलायन भएका छन् भन अर्कोतर्फ पर्यटन क्षेत्रलाई समेत ठूलो धक्का लागेको छ । नारायणी नदीमा गरिएको परिक्षणले भने अब केही आशा भने जगाएको छ ।”
जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेत बहादुर पुनले सफल परिक्षणले स्थानिय मात्रै नभई यहाँका ब्यवसायी पनि उत्तिकै उत्साहित बनेको बताए । “हामी स्थानिय हरुका विच सोच्दै नसोचेको खेलको विकास हुन्छ भन्ने कुरा आयो” उनले भने–“धार्मिक रुपमा समेत प्रख्यात नारायणी नदीमा हुने सहाशिक खेलले नवलपुरलाई अब कायाकिङ खेलको हवको रुपमा पहिचान दिन सहज हुनेछ भने खेलमार्फत समृद्धिको सपना साकार गर्न समेत उत्तिकै प्रभावकारी हुनेछ ।” उनले सफल परिक्षणका लागि परिषद र टोली प्रति आभार समेत व्यक्त गरे ।
उक्त स्थलको अध्ययनका लागि गएका कायाकिङका राष्ट्रिय खेलाडी (कायाकर) डम्बर बहादुर पूर्वाछाने, याम बहादुर गुरुङ र शुक्र लामाले अमलटारी घाटबाट मध्यविन्दु नगरपालिकाको नन्दपुर सम्म कायाक चलाएरै परिक्षण गरेका थिए ।
यसै गरी परिषदले काली गण्डकीमा समेत केही दिनमा नै क्यानोइङ खेलको अध्ययन परिक्षण गर्ने कार्यालय प्रमुख भुसालले जानकारी दिए ।
