प्रथम मुख्यमन्त्री कप ब्याडमिन्टनको क्वाटरफाईनलमा अनिल मल्ल

पोखरा स्पोर्टस । एपिएफका अनिल मल्ल राजधानीमा सुरु भएको प्रथम मुख्यमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकल तर्फ क्वाटरफाईनल प्रवेश गरेका छन् ।

बशुन्धरास्थित फिटनेश पार्क ब्याडमिन्टन एकेडेमीमा आयोजित प्रतियोगितामा नेपाल पुलिस क्लबका पुर्ण बहादुर थापालाई २१–१५, २१–१५ को सोझो सेटमा पराजित गर्दै मल्ल अन्तिम ८ मा स्थान पक्का गर्न सफल भएका हुन् ।

फिटनेश पार्कको आफ्नै कोर्टमा भएको प्रतियोगिताको यु–१३ तर्फ तनहुँका सफल भुजेल र स्पोर्टस् हवका सदीप राईले पनि अन्तिम आठको यात्रा तय गरेका छन् । भुजेलले आज सम्पन्न खेलमा देवी नगरका प्रज्वल श्रेष्ठलाई २१–१२, २१–१३ र राईले केबिसीका सामन्त बज्राचार्यलाई २१–९, २१–७ ले पराजित गर्दै अन्तिम ८ को भेट पक्का गरेका हुन् ।

यस्तै यसै समूहबाट अन्तिम आठ प्रवेश गर्ने क्रममा कैलालीका रियांश चौधरीले दोलखाका आरभ श्रेष्ठलाई २१–१३, २१–१०, धन्यन्तरीका सत्यम कार्कीले ग्यालेक्सी पब्लिकका शुभम चौहानलाई २१–१४, २१–१२, धन्यन्तरीकै सुहम कार्कीले सर्लाहीका प्रनिश कार्कीलाई २१–१४, २१–१२, एपिएफका आरुष सिमखडाले दोलखाका अग्रिम श्रेष्ठलाई २१–८, २१–१२, दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीले कपिलबस्तुका शिभम कसुधनलाई २४–२२, १३–२१, २१–१७ र कैलालीका आदित्य चौधरीले एपिएफका आनन्द पोखरेललाई २१–३, २१–८ ले पराजित गरे ।

यस अघि फिटनेश पार्कका संचालक अर्जुन खनाल को सभापतित्वमा भएको कार्यक्रमको बागमती प्रदेश सरकारका अर्थ मन्त्री बहादुर सिंह तामाङ्गले उद्घाटन गरेका थिए । साथै मन्त्री तामाङ्गले प्रतियोगिता रेफ्रि उदय अर्याललाई सटल कर्क प्रदान गर्दै प्रतियोगिताको शुभारम्भ गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य चन्द्र बदना राई, पूर्व ब्याडमिन्टन च्याम्पियन एवं ब्याडमिन्टन संघका पूर्व उपाध्यक्ष प्रताप अधिकारी, पूर्व राखेप सदस्य सुभाष श्रेष्ठ, समाजसेवी एवं ग्रिनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टन्डन, बागमती प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्र थिङ्ग लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close