मुख्यमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन बुधबारबाट

पोखरा स्पोर्टस । फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीको आयोजनामा ‘प्रथम मुख्यमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ बुधवारबाट सुरु हुने भएको छ ।

नेपाल ब्याडमिन्टन सङ्घका पूर्व उपाध्यक्ष तथा तदर्थ कमिटीका सदस्य सुवास श्रेष्ठका अनुसार प्रतियोगितामा विभिन्न ९ वटा इभेन्टमा प्रतिस्पर्धा हुने भएको हो ।

विश्व ब्याडमिन्टन महासङ्घको नियम अनुसार खेलाइने प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु–१९ पुरुष एकल, यु– १९ महिला एकल, यु– १३ महिला एकल, यु–१३ पुरुष एकल, पुरुष युगल, ४५ वर्ष भन्दा माथिको भेट्रान्स तथा ५५ वर्ष भन्दा माथिको भेट्रान्स स्पर्धा समोवश रहेका छन् ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू काठमाण्डौ बसुन्धरास्थित आयोजककै कभर्ड हलमा हुने छ ।

प्रतियोगिताको पुरुष र महिला एकलको विजेतालाई नगद रु ५० हजार, उप विजेतालाई नगद रु २५ हजार र तेस्रो हुने दुईलाई जनही नगद रु १०–१० हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

यसै गरी यु–१९ स्पर्धामा उपाधि विजेतालाई नगद रु २५ हजार, उप विजेतालाई नगद रु १५ हजार तथा तेस्रो हुने खेलाडी दुईलाई जनही नगद रु ५–५ हजार रुपैयाँ साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक राम त्रिपाठीले जानकारी दिएका छन् ।

त्यस्तै पुरुष युगल तर्फ विजेता जोडीलाई नगद रु ५० हजार, उपविजयीलाई नगद रु २५ हजार तथा तेस्रो हुने जोडीलाई नगद रु १० हजार रुपैयाँ प्रदान गरिने छ ।

४५ वर्ष भन्दा माथिको भेट्रान्समा विजयीलाई नगद रु ३० हजार रुपैयाँ, उपविजयीलाई नगद रु २० हजार तथा तेस्रो हुनेलाई नगद रु १० हजार रुपैयाँ प्रदान गरिने छ भने ५५ वर्ष भन्दा माथिको भेट्रान्स समूहमा विजेतालाई नगद रु २० हजार, उप विजेतालाई नगद रु १० हजार तथा तेस्रो हुनेलाई नगद रु १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

मंगलबार सम्पन्न पत्रकार भेटघाटमा बाग्मती प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्र थिङले कुनै पनि ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदा अवरोध सृजना हुनु दुखद भएको बताए ।

प्रतियोगिताका संयोजक त्रिपाठीले संघको नाममा केन्द्रिय तदर्थ कमिटीका संयोजक राम जी बहादुर श्रेष्ठले आफूले भनेको प्राविधिक राखे मान्यता दिने अन्यथा नदिने भन्दै अवरोध सृजना गरेको बताउँदै यस्तो कृयाकलापले ब्याडमिन्टन खेलको विकास नहुने उल्लेख गरे ।

सो अवसरमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याल, फिटनेस पार्क एकेडेमीका प्रोप्राइटर अर्जुन खनाल, खेतान स्पोर्ट्स फाउन्डेसनका प्रमुख कार्यकारी विकास खेतान, पत्रकार टङ्क पन्त सहभागि थिए ।

प्रतियोगिताका लागि प्रभु बैङ्क, स्पार्क कार, ग्रिन सिटी अस्पताल, लिनिङ, वेभ नेपाल, नागेश्वरी क्रिएसन र एसियन स्पोर्ट्स टुडेले सहयोग गरेका छन् । प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको मुख्य प्रायोजन बाग्मती प्रदेश खेलकुद परिषद्ले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close