राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा सुरु

पोखरा स्पोर्टस । एसिसी वुमेन्स प्रिमियर कप २०२४ मा सहभागि हुने राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा सुरु भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सुरु गरेको हो । प्रशिक्षणमा रहेका २४ जनाको टोलीले आजबाट पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा प्रशिक्षण सुरु गरेको हो ।

पोखरा आइपुगेको टोलीलाई कास्की जिल्ला क्रिकेट संघले स्वागत गरेको छ । पोखरा आइपुगेको टोलीलाई जिल्ला क्रिकेट संघका कार्यबाहक अध्यक्ष दिपेन्द्र चन्दले पोखरा रंगशालाको क्रिकेट मैदानमा स्वागत गरेका थिए । सो अवसरमा उनले बन्द प्रशिक्षणको शुभकामना दिंदै मेहनत गरेर प्रशिक्षणमा सहभागि हुने खेलाडीहरुलाई आग्रह समेत् गरे । 

टिम प्रशिक्षक मनोज कटुवालका अनुसार आज बाट खेलाडीहरुलाई दुई टिममा विभाजित गरी चार दिन सम्म लगातार खेल खेलाइने छ भने पाँचौ दिनमा खेलाडीहरुको फिटनेश परिक्षण हुनेछ । बन्द प्रशिक्षणकै क्रममा नेपाली राष्ट्रिय टोलीका फिटनेश ट्रेनर अब्दुल सतार पोखरा आए लगतै फिटनेश परिक्षण हुनेछ भने तत् पश्चात १८ सदस्यिय टोलीको घोषयाा समेत गरिने कटुवालले बताए ।

एसीसी वुमन्स प्रिमियर कप टी २० फर्म्याटमा आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुनेछ । प्रतियोगितामा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, थाइल्याण्ड, युएई, हङकङ, चीन, म्यानमार, इन्डोनेसिया, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स सहभागि हुनेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा हुने महिला टि २० एसिया कप खेल्न पाउनेछन् ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला राष्ट्रिय टोलीमा बिन्दु रावल, रुबिना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, सबनम राई, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डली भट्ट, अश्मिना कर्माचार्य, सोनी पाख्रिन, एसोदा विष्ट, खुशी डंगोल, रोमा थापा, सोमु विष्ट, ममता चौधरी, पुजा महतो, आरती महतो, ज्योत्स्निका मरासिनी र लक्ष्मी चौधरी रहेका छन् । ज्योत्स्निका गण्डकी प्रदेशकी हुन् । उनी पहिलो पटक २४ सदस्यिय स्क्वाडमा छिन् ।

टोलीले करिव तिन साता पोखरामा रहेर प्रशिक्षण गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close