
पोखरा स्पोर्टस । साढे दुई दशक पछि लुम्विनी प्रदेशको बाँकेमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा ‘प्रथम नेपालगञ्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ हुन लागेको हो । २५ वर्ष पछि नेपालगञ्जमा आयोजना हुन लागेको उक्त प्रतियोगिता माघ ११ देखि १३ गते सम्म नेपालगञ्जस्थित कभर्डहलमा सञ्चालन हुने संघका अध्यक्ष संजय थापाले जानकारी दिएका छन् ।
तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न पाँच वटा विद्यामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जस अनुसार पुरुष एकल खुला, पुरुष युगल, महिला एकल, पुरुष युगल लेभल बि र ४५ वर्ष माथी युगल भेट्रान्स हुने छ ।
प्रतियोगितामा देश भरीका १५० जना खेलाडीहरुको सहभागिता हुने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
खेलकुद परिषद् लुम्विनीले प्रवर्द्धन गर्ने
प्रतियोगितालाई प्रदेश खेलकुद विकास परिषद् लुम्विनीले प्रवर्द्धन गर्ने भएको छ । परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईले लुम्विनीलाई ब्याडमिन्टनको हव बनाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने जनाएको अन्तर्र्राष्ट्रिय रेफ्रि उदय अर्यालले बताए । उनले भने–“सदस्य सचिव ज्यूले प्रतिवद्धता व्यक्त गर्नु भएको छ । लुम्विनी ब्याडमिन्टन खेलको उर्वर भूमी रहेकोले पनि उहाँले सो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।”
सदस्य सचिवकै पहलमा बाँकेमा राष्ट्रियस्तरको प्रतियोगिता साढे दुई दशक पछि हुन लागेको जनाउँदै उनले प्रतियोगिताले लुम्विनीमा प्रतिभावान खेलाडीहरु उत्पादन हुने उनले जनाए ।
