
पोखरा स्पोर्टस । नेपालीहरुको साझा संस्थाको रुपमा परिचित पोखरेली मञ्च युकेले ‘पाँचौ पिपल नेपालकप टि–२० क्रिकेट’ प्रतियोगिताको तयारी सुरु गरेको छ ।
मञ्चको कार्यसमिती बैठकले पाँचौ पीपल नेपालकप टी–२० क्रिकेट प्रतियोगिताको तयारी सुरु गरेको जनाएको हो । उक्त प्रतियोगिता गत दुई वर्ष विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ कारण स्थगित भएको थियो । प्रतियोगिता युके रेडिङ्गस्थित क्रिकेट क्लब सनिड्ग लेनमा १० र १७ जुलाईमा हुने मञ्चका अध्यक्ष करम गुरुङले पोखरा स्पोर्टललाई जानकारी दिए ।
प्रतियोगितामा १० टिमले सहभागिताका लागि आग्रह गरेको भए पनि ६ टिम छनौट गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगितामा नवयुवा क्रिकेट क्लव, हिमालयन क्रिकेट क्लव, रमाईलो क्रिकेट क्लव, खुकुरी क्रिकेट क्लब, क्यूजी सिग्नल क्रिकेट क्लव र नेप्लिज वरिएर क्रिकेट क्लवले प्रतिष्पर्धा गर्नेछन् ।
उक्त प्रतियोगितामा उपाधि विजेताले नगद १ हजार पाउण्ड सहित रनिङ शिल्ड र उपाविजेताले नगद ७ सय पाउण्डका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उपाधि विजेताले प्राप्त गर्ने रनिङ शिल्ड मञ्चका संस्थापक अध्यक्ष/प्रमुख संरक्षक क्याप्टेन चन्द्र बहादुर पुन र उनकी बहिनी सरिता पुनले प्रायोजन गरेका हुन् । प्रतियोगिता सम्पन्न गर्न ८ हजार पाउण्ड खर्च लाग्ने अनुमान गरीएको अध्यक्ष गुरुङले बताए ।
सूर्य प्रकाश गुरुङको पिपल मर्गेज इभेन्टसको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगिताले खेलाडीहरुको क्षमतामा बिकासका लागि महत्वपूर्ण हुने अध्यक्ष गुरुङले जनाए । उनले भने–“यो प्रतियोगिताले एकअर्कामा मित्रतालाई कसिलो बनाउन र खेलकुद मार्फत नेपालीहरुको एकतालाई बलियो बनाउन भूमिका खेल्ने छ ।” “हामीले सन २०१६ बाट यो प्रतियोगिता पोखराको नाउँमा सुरु गरेका थियौं सन २०१७ बाट नेपालकपको नाउँमा सञ्चालन हुँदै आएको छ,” उनले भने ।
साथै पोखरेली मञ्च युकेले नेपालमा पर्यटन बिकासका लागी प्रचार–प्रसार गर्न साथै नेपालीहरुको बेलायतमा पहिचान बढाउन “हाइक फर नेपाल इन वयल्स, युके” कार्यक्रममा समेत संचालन गर्ने भयको छ । वि विल राइज फाउन्डेशनले मञ्चको सहकार्यमा आगामी ५ देखी ७ अगस्त उक्त कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष गुरुङले बताए ।
सम्पन्न बैठकमा मञ्चका संस्थापक अध्यक्ष/प्रमुख संरक्षक क्याप्टेन चन्द्र बहादुर पुन, प्रमुख सल्लाहाकार एवम निवर्तमान अध्यक्ष मान प्रसाद गुरुङ, सल्लाहाकारहरु महेश गुरुङ र नरजंग गुरुड्, उपाध्यक्ष पवित्र गुरुङ, महासचिव जसु गुरुङ, मञ्चका पुर्व उपाध्यक्ष बाचस्पती रेग्मी र कार्यसमितीका सचीव जीवन गुरुङ, सदस्यहरु मीना गुरुङ र सोम गुरुङको सहभागिता रहेको थियो ।
