
पोखरा स्पोर्टस । प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरीय एक दिवशिय क्रिकेट छनौट प्रतियोगितामा स्याङजा च्याम्पियन भएको छ ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंंगशालास्थित क्रिकेट मैदानमा सम्पन्न फाइनलमा स्याङजा ८१ रनले विजयी भएको हो । तनहुँ विरुद्ध फाइनलमा टस जितेर व्याटिङ गरेको स्याङजाले ३९ ओभरमा सबै १० विकेट गुमाउँदै १८२ रन बनायो । स्याङजाका लागि करन पगेनीले ९६ बलमा ८२ रनको योगदान दिंदा मिलन क्षेत्रीले १७ बलमा २७, इश्वर क्षेत्रीले १३ र अंकित न्यौपानेले १२ रनको योगदान दिए ।

स्याङजाकाका लागि चन्द्र पौडेल, प्रदिप अर्याल, सादित्य बन्जराले समान २–२ विकेट हात पार्दा सन्दिप पराजुली र कमलेश मण्डलले १–१ विकेट हात पारे ।
यता जवाफी व्याटिङमा उत्रिएको तनहुँ २७ं.४ ओभरमा १० विकेटको क्षतीमा १०१ रन मात्रै आफ्नो स्कोर बोर्डमा जोड्न सक्यो । जवाफी व्याटिङ गरेको तनहुँ ८३ रन बनाउँदा सम्म कुनै विकेट गुमाएको थिएन । तर स्याङजाले उत्कृष्ट कमव्याक गर्दै तनहुँलाई १०१ रनमा नै समेट्यो । तनहुँका लागि समिर कडेलले २७, उत्सव श्रेष्ठले २६ र प्रदिप अर्यालले १४ रन बाहेक अन्य खेलाडी दोहोरो रन जोड्न सकेनन् ।
स्याङजाका बलर तुलसीराम भण्डारी तनहुँका लागि घातक बने । म्यान अफ दि म्याच समेत रहेका उनले ९ ओभरको स्पेलमा २ मेडन राख्दै ३१ रन दिएर ५ विकेट हात पारे । त्यस्तै विपिन राज अर्यालले २ विकेट लिए ।
यहि १९ गते बाट सञ्चालन भएको प्रतियोगितामा तनहुँका क्रिश ऐर प्लेयर अफ दि सिरिज हुन सफल भए । त्यस्तै प्रतियोगितामा ११ विकेट लिएका सन्दिप पराजुली वेष्ट बलर र स्याङजाका इश्वर क्षेत्री उत्कृष्ट व्याटर घोषित भए ।
विजेता टिम तथा खेलाडीहरुलाई सम्वोधन गर्दै प्रदेश खेलकुद परिषका सदस्य सचिव श्रीधर शर्माले प्रदेश खेलकुदले खेलाडीहरुको हितका लागि अभियान सुरु गर्न लागेको बताउँदै सो अभियानमा जोडिन सबैलाई आग्रह गरे । परिषदले खेलाडी कल्याणकारी कोष, खेलकुद पदक, ओलम्पियनहरुलाई भत्ता जस्ता महत्वपूर्ण योजनाका साथ अघि बढेको बताउँदै उनले प्रशिक्षक र रेफ्रिहरुको आकस्मिक दुर्घटना विमा, खेलाडीहरुको लागि सामुहिक दुर्घटना विमा, पूर्व तथा वर्तमान खेलाडीहरुका लागि औषधी उपचारमा छुटको व्यवस्था र खेलाडीहरुलाई विभिन्न अध्ययन प्रतिष्ठानहरुमा छात्रवृत्तीको व्यवस्थाका लागि योजनाहरु अघि बढाएको बताए ।
संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उनले सहभागि टिमहरुबाट १४ जना खेलाडीहरुको घोषणा गरिने बताए । सो अवसरमा संघका केन्द्रिय सदस्य सुदिप शर्माले क्रिकेट खेलको विकासका लागि विभिन्न योजना अघि सारेको जनाउँदै पोखरामा समेत प्रतियोगिताहरु हुने जानकारी दिए ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता यहि पौष २८ गतेबाट सुरु हुँदैछ । गण्डकीले आफ्नो पहिलो खेल लुम्विनीमा सोही दिन खेल्ने भएको अध्यक्ष सिग्देलले जानकारी दिए ।
