
पोखरा स्पोर्टस । यहि माघ १ गतेबाट ६ गतेसम्म सञ्चालन हुने चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ मा आयोजक गण्डकीबाट पुरुषतर्फ तिन र महिलातर्फ तिन विदेशी खेलाडीहरु समावेश हुने भएका छन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने उक्त प्रतियोगितामा गण्डकीबाट महिला र पुरुषतर्फ गरी ६ जना विदेशी खेलाडी भित्राएको हो । आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप प्रतियोगिता भएकै कारण टिमलाई दावेदार बनाउन विदेशी खेलाडी टिममा समावेश गरिएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका छन् ।
प्रतियोगितामा सहभागि टिम हेल्प नेपालले तिन जना पाकिस्तानी खेलाडी भित्राएको छ भने अर्कोतर्फ श्रीलंकाको आर्मी टिम समेत सहभागि हुने निधो भए संगै आयोजक गण्डकी उपाधि रक्षाको दवावमा परेको छ ।
“गण्डकी गत वर्षको समेत उपाधि बिजेता भएका कारण उपाधि रक्षाका लागि हामीले योजना अनुरुप इरानी राष्ट्रिय टोलीका तिन सदस्यहरुलाई टिममा समावेश गरेका छौं”–अध्यक्ष शर्माले पोखरा स्पोर्टस संग भने–“उनीहरुको आगमनले टिम बलियो रुपमा प्रस्तुत हुने हाम्रो ठम्याई छ ।” उनले यो प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिताको उद्धेश्य पोखरालाई खेलकुदको माध्यमबाट विश्वमा प्रवर्द्धन गर्नु समेत रहेको बताए । उनले भने–“खेलाडीहरु आएर खेल्ने उद्धेश्य मात्रै होइन । पोखरालाई विश्व खेलकुदको मानचित्रमा समेत चिनाउन हाम्रो उद्धेश्य हो भने अर्कोतर्फ खेल रोचक होस स्थानिय खेलाडीहरुले समेत उनीहरुबाट केही नयाँ कुरा सिकुन भन्ने हो । ”
तिन इरानी खेलाडीहरुमा मोरादी अमिराबास, माहदी जादमार्द मोजदेही र आभार मादी रहेका छन् । उनीहरु यहि पौष २८ गते नेपाल आइपुग्ने गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले जानकारी दिएका छन् । गण्डकी प्रदेशको भलिबल टिमको कप्तानी भने सदाबहार खेलाडी हरि पाण्डेले गर्ने छन् । “अहिले गण्डकीको टिम कर्णाली प्रदेशमा सञ्चालन हुने प्रदेशस्तरिय भलिबल प्रतियोगिताका लागि सुर्खेत जाने तयारीमा छ । टिम फर्के लगतै हामी टाइगर कपको टिम घोषणा गर्नेछौं ।”–उनले भने ।
यता महिलातर्फ समेत तिन भारतिय खेलाडी समावेश हुने पक्का भएको आयोजकले जनाएको छ । नेपाली राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिने गण्डकीको टोलीलाई बलियो बनाउन भारतिय खेलाडीहरु समावेश गरिएको आयोजकले जनाएको छ । अहिले महिला टिमले तयारी गरिरहेको जनाउँदै टिममा समावेश खेलाडीको नाम चाँर्ड घोषणा गरिने टिम कप्तान अरुणाले पोखरा स्पोर्टसलाई बताइन् ।
नेपाल भलिबल संघको स्विकृतीमा हुने चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लव पोखरा आउने भएको छ । महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लव, आयोजक गण्डकी प्रदेश संगै तिन विभागिय टोली नेपाल पुलिस, नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।
त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाउने भएको छ । प्रतियोगितामा सहभागि हेल्प नेपाल स्पोर्टस क्लवले समेत ३ जना पाकिस्तानी खेलाडी टिममा भित्राएको छ । आयोजक टिम गण्डकीले आफ्नो उपाधि रक्षाका लागि विदेशी खेलाडी भित्राउने तयारी गरिरहेको अध्यक्ष शर्माले जनाएका छन् । पुरुषतर्फ तिन विभागिय टोली नेपाली सेनाको त्रिभुवन क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।
तेस्रो संस्करणको उपाधि पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ शसस्त्र प्रहरीको एएिएफ कलबले जितेको थियो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
त्यसै गरि उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५५५ प्राप्त गर्नेछन् भने अन्य विद्यागत तर्फ हरेक खेलाडीले जनही नगद रु १० हजार ५५५ प्राप्त गर्नेछन् ।
