
पोखरा स्पोर्टस । यहि माघ १ गतेबाट ६ गतेसम्म सञ्चालन हुने चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ को तयारी तिव्र पारे संगै खेल मैदानको मर्मत, रङरोङ्गन तथा सरसफाई तिव्र बनाइएको छ ।
प्रतियोगिता सुरु हुन ११ दिन बाँकी छँदा प्रतियोगिताको आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपालले मैदानको मर्मत, रङरोङ्गन तथा सरसफाई कार्य सुरु गरेको हो । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा हुने चौथो संस्करणको टाइगर कपको आयोजना नजिकिंदै जाँदा मैदान मर्मतको कार्य सुरु गरिएको अध्यक्ष नारायण प्रसाद शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
“हामी १० हजार दर्शकलाई सहजपूर्ण वातावरणमा खेलको मनोरन्जन लिन सक्ने गरी तयारी सुरु गरेका छौं”–अध्यक्ष शर्माले भने–“हाम्रो पहिलो फेजको काम भनेको नै मर्मतको मर्मत सम्भार र रङ्गरोङ्गन कार्य हो भने मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउनु पर्नेछ । हामी त्यही झल्को दिने गरी तयारीमा छौं ।” “हामीले गत वर्ष समेत मैदानको बाहिरी भागलाई माटो भरेर सम्याउने कार्य गरेका थियौं । राज्यले गर्नुपर्ने कार्य हामी एउटा संस्थाले खेलकुद विकासमा कुनै अवरोध नआओस भन्ने हेतुले इमान्दारीपूर्वक गरेका छौं”-अध्यक्ष शर्माले भने ।
मैदानलाई सम्याउन माटो ‘फिलिङ’ कार्य समेत सुरु गरिएको छ भने रङरोङ्गन कार्य बिहिबारबाट सुरु हुनेछ । त्यसपछि अस्थायी प्रकारको प्याराफिट निर्माण तथा मुख्य स्टेजको निर्माण समेत हुने अध्यक्ष शर्माले बताए । उनल भने–“प्रतियोगिता सुरु हुने दिन नजिकिंदै जाँदा हाम्रो चटारो समेत बढेको छ भने प्रतियोगिताका लागि भनेर नै विदेशबाट समेत शुभाचिन्तकहरु आउने क्रम बढेको छ । जसका कारण हामीलाई हौसला समेत बढेको छ ।”
नेपाल भलिबल संघको स्विकृतीमा हुने चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लव पोखरा आउने भएको छ । महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लव, आयोजक गण्डकी प्रदेश संगै तिन विभागिय टोली नेपाल पुलिस, नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।
त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाउने भएको छ । प्रतियोगितामा सहभागि हेल्प नेपाल स्पोर्टस क्लवले समेत ३ जना पाकिस्तानी खेलाडी टिममा भित्राएको छ । आयोजक टिम गण्डकीले आफ्नो उपाधि रक्षाका लागि विदेशी खेलाडी भित्राउने तयारी गरिरहेको अध्यक्ष शर्माले जनाएका छन् । पुरुषतर्फ तिन विभागिय टोली नेपाली सेनाको त्रिभुवन क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।
‘चौथो टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ को उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
त्यसै गरि उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५५५ प्राप्त गर्नेछन् भने अन्य विद्यागत तर्फ हरेक खेलाडीले जनही नगद रु १० हजार ५५५ प्राप्त गर्नेछन् ।
तेस्रो संस्करणको उपाधि पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ शसस्त्र प्रहरीको एएिएफ कलबले जितेका थिए ।
नेपाल भलिबल संघको स्विकृतीमा आयोजना हुने उक्त प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, स्थानियतहका सरकारहरुलगायतको सहयोग र सहकार्य रहने छ ।
त्यसै गरी मणिपाल शिक्षण अस्पताल,चरक मेमोरियल हस्पिटल पोखरा,ग्रिन सिटी हस्पिटल काठमाण्डौं,रोड शो इन प्रा।ली अन्नपुर्ण केबुलकार, मनकामना केबुलकार, प्रभु बैंक, बतास अर्गनाईजेसन, माछापुच्छ्रे बैंक, मुक्तिनाथ बिकास बैंक, एक्सटेप, केल्मी नेपाललगायतको सहयोग रहने छ । हरेक खेलमा म्यान अफ दि म्याच वापत खेलाडीले केल्मी र एक्सटेपको टिशर्ट पाउनेछन भने दर्शकहरुले किनेको अर्धकट्टी टिकट छनौट गरि एक जनालाई केल्मीको टिशर्ट प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड रुपैया खर्च लाग्ने तथा प्रतियोगितालाई थप आकर्षण बनाउन र दर्शकलाई सहज ढंगले खेल हेर्न अवसर प्रदान गर्ने गरि यो वर्ष बढी क्षमताको प्याराफिट तथा स्टेज आकर्षक एवं भव्य रुपको तयार गरिन लागेको छ ।
