२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिसमा संरक्षक र सुनिरा च्याम्पियन (फोटोसहित)

पोखरा स्पोर्टस । २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसले मेन्स र उमेन्स सिंगल्सतर्फ नयाँ च्याम्पियन पाएको छ ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आइतबार सम्पन्न प्रतियोगितामा मेन्स सिंगल्स ओपनतर्फ संरक्षक भुषण बज्रचार्य र उमेन्सतर्फ सुनिरा थापा च्याम्पियन भएका हुन् । सोही प्रतियोगिताको १८ औं र १९ संस्करणका च्याम्पियन समेत रहेका नेपाल नं १ र्‍याकिङ प्रदिप खड्काको दबदवालाई आफ्नै होम ग्राउण्डमा टाइ ब्रेक म्याचमा २–१ ले हराउँदै संरक्षकले तेस्रो पटक च्याम्पियन बन्ने प्रदिपको सपनामा ब्रेक लगाए ।

पोखरा रंगशालाको टेनिस कम्प्लेक्समा सम्पन्न फाइनलमा प्रदिप विरुद्ध पहिलो सेट ६–४ ले जित हात पारेका पूर्व नेपाल नं १ संरक्षकले दोश्रो सेटमा भने २–६ ले प्रदिपलाई सुम्पिए तर तेश्रो तथा अन्तिम सेटमा ७–६  (७–५) ले संघर्षपूर्ण जित निकाल्दै नगद रु ८० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे । उपविजेता बनेका प्रदिपले नगद रु ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्दा सोही इभेन्टमा सेमीफाइनालिष्ट द्वय ऋतिक राना र अभिनन्सु ठाकुरले जनही नगद रु ५–५ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

त्यस्तै उमेन्सतर्फ समेत गत संस्करणकी समेत च्याम्पियन नेपाल १  अभिलाषा विष्टलाई सुनिरा थापाले  २-१ को सेटमा पराजित गरीन् । सनसनीपूर्ण फाइनलमा सुनिराले पहिलो सेट ६–० ले जितिन अभिलाषाले दोश्रो सेट सम्हालिएर खेल्दै ६–१ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किइन । सुनिराले अन्तिम सेट ६–४ ले जिते पछि अभिलाषाको दोश्रो पटक च्याम्पियन हुने सपनामा ब्रेक लाग्यो । च्याम्पियन बनेकी सुनिराले नगद ८० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्दा अभिलाषाले नगद रु ४० हजार तथा सोही इभेन्टमा सेमीफाइनालिष्ट द्वय माहिका राना र रायना शाहले जनही नगद रु रु ५–५  हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

यस्तै प्रतियोगितामा अन्तर्गत नै भएको ३५ वर्ष माथीको भेट्रान्स मेन्स सिंगल्सतर्फ कमल भण्डारी विजेता बनेका छन् । उनले फाइनलमा सन्तोष खत्रीलाई ७–५ र ६–४ ले पराजित गरे । उपाधि विजेता कमलले नगद रु बिजेताले नगद रु ६० हजार, उपविजेता सन्तोषले नगद रु ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गरेका छन् ।

४५ वर्ष माथीको भेट्रान्स मेन्स सिंगल्सतफको रोहित सुनुवारले फाइनलमा महेश श्रेष्ठलाई सुपरटाई म्याचमा हराउँदै उपाधि जिते । पहिलो सेट ५–७ ले गुमाएका रोहितले दोश्रो सेट सहज रुपले ६–१ ले जित्दै खेल बराबरीमा ल्याउँदै सुपरटाईतर्फ खेल धेकिलिंदा रोहितले १०–७ ले खेल जित्न सफल भए । सोही प्रतियोगितामा सेमीफाइनालिष्ट द्वय प्रदिप शाह र गोपी भट्टराई रहेका छन् । उपाधि जितेका रोहितले नगद रु ४० हजार, उपविजेता महेशले नगद रु २० हजार र सेमीफाइनालिष्ट द्वय प्रदिप र गोपीले जनही नगद रु ५–५ हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे ।

२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिस अन्तर्गत नै भएको ५५ वर्ष माथी मेन्स सिंगल्सको उपाधि विजेता बन्न सफल बिमल कुमार गुरुङले फाइनलमा प्रतिद्वन्दी जिवन घिमिरेलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरे । उपाधि विजेताले बिमलले नगद रु ३० हजार, उपविजेता जिवनले नगद रु १५ हजार, सेमीफाइनालिष्ट खेलाडी द्वय समिर शेरचन र थोङवाम तुलेश्वरले जनही नगद ५–५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई प्रतियोगिता मुख्य प्रायोजक संस्था माछापुच्छ्रे बैंककी निर्देशक बन्दना केसी, केसी ग्रुपका प्रवन्ध निर्देशक किरण केसी, नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणा, कास्की खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँ, ट्रयाङ्क्वालिटी स्पाका प्रवन्ध निर्देशक रनिल फैजुलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरका बोल्दै माछापुच्छ्रे बैंककी निर्देशक बन्दना केसीले प्रतियोगितालाई सहयोगको प्रतिवद्धता जनाएकी छन् । उनले भनिन्–“प्रतियोगिताले पोखराको टेनिस खेल विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको छ । हामी यहाँहरुलाई निरन्तर सहयोगको प्रतिवद्धता व्यक्त गर्छौं ।”

कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रतियोगिताका संयोजक एवं संघका उपाध्यक्ष नविन चालिसे, सचिव नविन श्रेष्ठले समेत आफ्ना भनाई राखेका थिए । सोही कार्यक्रममा १९ औं एसियाडमा सहभागि नेपाली खेलाडीहरुलाई सहभागिताको प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

यहि पौष १० गते देखि सुरु भएको प्रतियोगितामा महिलातर्फ १३ र पुरुषतर्फ २०३ जना गरी कुल २ सय १६ जना खेलाडीहरुको सहभागिता रहेको टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिए ।

“२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” सम्पन्न गर्न करिव १९ लाख खर्च र २१ लाख आम्दानी हुने लक्ष्य रहेको कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close