
पोखरा स्पोर्टस । गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा संचालित प्रदेशस्तरीय तेस्रो डान परिक्षामा ६ जना खेलाडीहरु ग्रेडिङ उर्तिण गर्न सफल भएका छन् ।
प्रदेशस्तरीय तेस्रो डान परिक्षा उर्तिण गर्न सफल खेलाडीमा दुई जिल्लाका एक महिला सहित ५ पुरुष खेलाडी रहेका छन् । कास्कीकी दिप्सिना गुरुङ र सुजन गुरुङ साथै नवलपुरका समिर बानिया, मनिष महतो, सुलभ तामाङ र सुचित पाण्डे रहेका छन् । गण्डकीका ति खेलाडीले तेश्रो डानको उपाधि लिन सफल भएको परिक्षा संचालक समेत रहेका तेक्वान्दो प्रशिक्षक बलराम लामाले जानकारी दिएका हुन् ।
बिहिबार भएको सो कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश तेक्वान्दो संघका कार्यवाहक अध्यक्ष विष्णु गौतमले खेलाडीको शिप र ज्ञानलाई राष्ट्रले सम्मुचित रुपमा प्रयोग गर्न सके मात्र खेलाडीहरुमा खेल क्षेत्रमा लाग्न प्रेरणा मिल्ने बताए ।
प्रदेशका महासचिव रमेश पौडेलले तेक्वान्दो खेल नेपालका लागि सबै भन्दा बढी पदक ल्याउन सक्ने खेल भएकाले खेलाडीहरुले खेलमा नै भविष्य देखेर खेलेमा मात्र सफलता पाउने उल्लेख गरे ।
तेक्वान्दो संघ कास्कीका अध्यक्ष कुमार गुरुङले तेस्रो डान उत्कृष्ट खेल भएकाले खेलाडीहरुले परिस्कृत र परिमार्जित गरी व्यवसाहिक रुपमा अगाडि बढ्न आग्रह गरे ।
