तेक्वान्दो संघ कास्कीले प्रशिक्षण हलको निर्माण कार्य सुरु गर्ने

एक वर्ष अघि शिलन्यास

पोखरा स्पोर्टस । कास्की जिल्ला तेक्वान्दो संघले प्रशिक्षण हल निर्माण प्रक्रिया सुरु गर्ने भएको छ ।

पोखरामा शनिबार सम्पन्न संघको १४ औं वार्षिक साधारण सभामा सो कुराको जानकारी दिइएको हो । उक्त प्रशिक्षण हल एक वर्ष अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शिलान्यास गरेका थिए ।

पोखरा रंगशालामा निर्माण हुने प्रशिक्षणहलको नक्सा समेत राखेपले स्विकृत समेत गरेको संघका अध्यक्ष कुमार गुरुङले जनाएका छन् । “हामी अब हल निर्माणको तयारीमा जुट्ने छौं, हामी संग जे जति रकम उपलप्व्धता छ त्यसको सदुपयोग हल निर्माणका लागि हुनेछ”, उनले भने ।

१४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले समेत प्रशिक्षण हल निर्माणको विषयलाई जोड दिंदै प्रविधि मैत्री खेल सामाग्रीको प्रयोग संगै खेलाडीहरुको क्षमता अभिवृद्धिको विषयमा संघले आफ्ना गतिविधिहरु अघि बढाउनु पनेै बताए ।

खेलकुदमा सुशासन कायम गर्न साधारण सभाहरुको महत्व रहेको जनाउँदै उपाध्यक्ष गुरुङले कास्की तेक्वान्दो यो पक्षमा संधै अघि रहेको उल्लेख गर्दै प्रदेश खेलकुदले समेत यस प्रकारका कार्यक्रमहरु लाई बढि जोड दिएको बताए । उनले भने–“खेलकुदमा सुशासन नहुँदा समस्या आएको छ । हामी त्यसलाई नतिजामुखी बनाउन प्रयासरत छौं । सबै खेल संघहरुले यो विषयलाई गम्भिर रुपमा आत्मसात गर्नुपर्छ ।”

संघका सल्लाहकार एवं ओलम्पियन नारायण गुरुङले प्रशिक्षण हल निर्माण ढिलो हुन गएको विषयमा चासो व्यक्त गर्दै हल निर्माणका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने–“यहाँ सहयोग गर्ने धेरै साथीहरु हुनुहुन्छ । मेरो तर्फबाट समेत पहल गर्नेछु । हल निर्माणको काम सुरु गर्नुहोस ।” मार्शल आर्ट खेलमा सबैभन्दा उत्कृष्ट तेक्वान्दो खेलको विकासका लागि सबैको उत्तिकै महत्वपूर्ण भूमिका आवश्यक रहेको जनाउँदै पूर्व खेलाडीहरुको योगदानलाई बिसर्न नहुने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव एवं अग्रज पत्रकार रमेश पौडेलले कास्की तेक्वान्दो संघले उत्कृष्ट कार्यहरुको प्रशंसा गर्दै खेलाडी उत्पादन र नतिजामा विशेष ध्यान दिन आग्रह गरे । उनले हल निर्माणको विषय लामो समय देखि थाती रहेको जनाउँदै यथासिघ्र पहल सुरु गर्न आग्रह समेत गरे ।

कार्यक्रममा खेलकुद पत्रकारितामा योगदान दिएकोमा केशव पाठक, सिनियर तेक्वान्दो प्रशिक्षकद्वय बलराम लामा र सुन बहादुर लामालाई सम्मान गरिएको थियो ।

संघका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार, संघका उपाध्यक्ष कुलचन्द्र शर्मा, सचिव दिपेन्द्र पाहारीलगायतले आ–आफ्ना भनाई राखेका थिए ।

यसै विच संघका सचिव दिपेन्द्र पाहारी द्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष किरण गौतमले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close