राष्ट्रपति कप प्रतियोगिता रकम अभावमा सकश !

पोखरा स्पोर्टस । खेलकुद कार्यक्रममा सरिक भएका हरेक नेताको भाषणमा खेलकुदको विकासको जग बलियो बनाउने विषयले प्राथमिकता पाउँछ । तर खेलकुदको बलियो जग मानिएको राष्ट्रपति कप भने न्यून बजेटका कारण कछुवाको गतिमा छ अर्थात जग बलियो बनाउने विषय केवल गफ र भाषणमा सिमित भएको छ ।

सम्माननिय राष्ट्रपतिको नाउँमा स्थापित केन्द्रियस्तरको राष्ट्रपति कपको १४ औं संस्करणको तयारी भइरहँदा पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रिय प्रतिस्पर्धामा पुग्न र त्यसका लागि नेपाल सरकारद्वारा राष्ट्रिय खेलकुद परिषद (राखेप) मार्फत विनियोजन भएको बजेटका कारण प्रतियोगिता सञ्चालनमा नै सकशपूर्ण स्थितीमा पुगेको हो । राष्ट्रपति कप अन्तर्गत टिम गेम्सतर्फ छात्र÷छात्रा भलिबल र कबड्डी, एथलेटिक्स तथा मार्शलआर्ट तर्फ उशु, तेक्वान्दो, कराते गरि ६ खेलहरु आयोजना हुने गरेका छन् ।

सरकारले हरेक पालिकालाई आयोजनाका गर्न १ लाख, जिल्लास्तरियका लागि प्रदेश खेलकुद परिषद मार्फत खेल र खेलाडी संख्याको आधारमा ३ देखि ४ लाख र प्रदेशस्तरिय प्रतियोगिताका लागि २२ देखि २५ लाख बजेट विनियोजन गर्ने गरेको छ । विनियोजित बजेट नाम मात्र रहेको बताउँदै पालिकाहरु समेत राष्ट्रपति कप आयोजनाका लागि चासो देखाउन छोडेका छन् । केही पालिकाहरुमा बजेट अभावकै कारण राष्ट्रपति कप स्थागित समेत् भएका छन् । जसका कारण खेलकुदको जग बलियो बनाउने नारा र भाषण मञ्चमा नै सिमित हुन पुगेको छ ।

पालिकास्तरिय प्रतियोगिता आयोजना गर्दानै ३ देखि ५ लाख खर्च हुने गरेको छ भने जिल्लास्तरिय आयोजना गर्दा करिव ८ देखि १० लाख खर्च हुने गरेको आयोजकको भनाई छ । यो वर्षबाट कार्यविधी समेत परिवर्तन गरी केही खेलमा खेलाडीहरुको संख्या समेत थप भए पछि विनियोजन भएको रकम थप सकशपूर्ण भएको बताइएको छ ।

राष्ट्रपति कपका लागि विनियोजन भएको रकम खेलाडीहरुको दैनिक भत्ता, खेल पोशाक, व्यवस्थापन, रेफ्रीहरुको भत्ता, मैदान व्यवस्थापनका लागि पुर्याउन निकै सकश भएको बताउँदै जिल्ला खेलकुद विकास समितिहरुले चर्को आवाज उठाएका छन् । त्यसै गरि प्रदेशमा प्राप्त हुने बजेटमा समेत उत्तिकै समस्या भए पछि प्रदेश खेलकुद परिषद गण्डकीले राष्ट्रिय खेलकुद परिषदलाई पत्रनै पठाएर ध्यानकषर्ण गरेको छ ।

“जिल्लास्तरिय आयोजना गर्दा ८ देखि १० लाख र प्रदेशस्तरिय आयोजना गर्दा १ करोड भन्दा बढि खर्च हुन्छ । तर हामीले प्रदेशस्तरिय आयोजना गर्दा हामी संग केन्द्रको २२ लाख र परिषदको २५ लाख गरि कुल ४७ लाख छ । यो आर्थिक वर्षमा प्रदेश सरकारले हामीलाई थप २५ लाख विनियोजन गरे पछि ४७ लाख पुगेको हो । यता जिल्लातर्फ हरेक जिल्लालाई करिव ४ लाखको दरले बजेट जान्छ तर त्यो अहिलेको अवस्थामा निकै कम हो । यसले हामीले सोचे जस्तो तयारी पुग्दैन,” परिषदले भनेको छ–“त्यसैका कारण हामीले राखेपलाई यो विषयमा गम्भिर रुपले ध्यानकर्षण गराएका हौं ।”

परिषदका पूर्व सदस्य सचिव तेज बहादुर गुरुङ समेत राष्ट्रपति कपमा बजेट अभावको विषयमा उत्तिकै गम्भिर छन् । आफ्नो कार्यकालमा राष्ट्रपति कप आयोजना गर्दा बजेट अभावले समस्या उत्पन्न भएको विषयमा प्रदेश सरकार र राखेपमा उठाएको उनले बताए । उनले भने–“सम्माननिय राष्ट्रपति ज्यूको नाउँमा देशभरिकै विद्यार्थीहरु मैदानमा आउँछन् । तर बजेटको अवस्था निकै कमजोर छ । कार्यकारी भएर यो कार्यक्रम सञ्चालन गर्नु निकै कठिन छ । यसमा राखेप र प्रदेश सरकारले पूर्नविचार गर्नुपर्छ ।” खेलकुदको जग बलियो बनाउने नेपाली खेलकुदको राष्ट्रपति कप महत्वपूर्ण रहेको बताउँदै उनले सोही अनुरुप बजेट समेत निर्धारण गर्नुपर्नेमा जोड दिए ।

बजेट अभावकै कारण राष्ट्रपति कपका लागि आवश्यक बन्द प्रशिक्षणका कार्यक्रमहरु समेत हुन सकेका छैनन् । जसका कारण खेलाडीहरुको स्तरमा वृद्धि समेत हुन सकेको छैन । गाउँ–गाउँबाट सदरमुकाम हुँदै केन्द्र सम्म पुग्ने राष्ट्रपति कपको यात्रामा खेलाडीहरुलाई पहिलो गाँसमा नै ढुङ्गा लागेको महशुस हुन्छ । न त गतिलो खेल पोशाक, न त प्रशिक्षण, न त व्यवस्थापन, न त प्रतियोगिताको आयोजना यि सबै विषयमा राष्ट्रपति कप चुकेको छ । राष्ट्रपतिकप प्रतियोगिता झारा टार्न आयोजना मात्रै हो भन्नुमा कुनै द्विविधा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close