
पोखरा स्पोर्टस । पोखरा १७ तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ को फाइनल शनिबार हुने भएको छ ।
जारी प्रतियोगितामा शुक्रबार सेभेन ए साइड फुटबलतर्फका क्वाटरफाइनल तथा बास्केटबलतर्फका लिगचरणका खेलहरू सम्पन्न भए भने टेनिसतर्फ केही इभेन्टहरूका फाइनल खेलहरु सम्पन्न भएका छन् ।
शुक्रबार सेभेन ए साइड फुटबलतर्फ ४ खेल, बास्केटबलतर्फ ६ खेल र टेनितर्फ १५ खेलहरू सम्पन्न भएको विद्यालयका सुपरीवेक्षक भीम बस्नेतले जानकारी दिए । सेभेन ए साइड फुटबलमा द ड्रिम स्कुललाई ३–० गोलले पराजित गर्दै शान्तिदीप स्कुल सेमीफाइनलको यात्रा तय गरेको छ । यसै गरी वेलनन एकेडेमीलाई ४–३ गोलले पछि पार्दै लिटल फ्लावर अगाडि बढेको छ भने बालकल्याणका विरुद्ध शान्ति निकुञ्जले १–० गोलको विजयी भयो । आयोजक फिस्टेल एकेडेमी २–० गोलले पराजित हुँदा सेमीफाइनल यात्रामा कालिका मावि तगारो बन्यो ।
शुक्रबार नै सम्पन्न बास्केटबलका लिग चरणका खेलहरूमा छात्रातर्फ एनसिसिएस काठमाडौँले मनकामना स्कुललाई ४०–१७ को स्कोरले पराजित गर्दा विन्ध्येश्वरीलाई ३५–१२ स्कोरले तथा फिस्टेल एकेडेमीले बालकल्याणलाई २३–१४ स्कोरले पराजित गरेको छ । छात्र बास्केटबलतर्फ आयोजक फिस्टेलले अल्फालाई ४५–२४ स्कोरले निराश बनायो ।
यता छात्रातर्फ एनसीसीएसले बालकल्याणलाई २९–२४ स्कोरले पराजित गर्दा आयोजक फिस्टेल एकेडेमीले विन्ध्येश्वरीलाई ३६–१२ ले स्तब्ध बनायो । शनिबार छात्रातर्फ एनसीसीएस र फिस्टेल तथा छात्रतर्फ फिस्टेल र मनकामना फाइनलमा भिड्ने छन् ।
यसैगरी १० वर्षमुनिको छात्र टेनिसतर्फ शुक्रबार भएको पहिलो खेलमा शिशुनिकेतनका इभानले शिशुनिकेतनकै ओमयुग थापालाई ६–२, ६–१ को सोझो सेटमा हराए भने दोस्रो खेलमा फिस्टेलका आर्यशराज पौडेलले फिस्टेलकै सुभान केसीलाई ६–०, ६–० स्कोरमा पराजित गरे ।
यस्तै छात्रातर्फ फिस्टेलकी जीवाश्री भट्टराईले फिस्टेलकै सोनाक्षी ढुङ्गानालाई ६–०, ६–० स्कोरमा पराजित गर्दा सेन्ट मेरिजकी बनी एस मेथलागनले गुरुकुलकी जियो केसीले ६–२, ६–१ स्कोरमा पराजित गरिन् ।
९ वर्षमुनिको छात्र टेनिसमा शिशुनिकेतनका इभान भट्टराईले शिशुनिकेतनकै ओमयुग थापालाई ४–०, ४–२ स्कोरले आउट गर्दा फिस्टेलका जीवाश भट्टराईले भद्रकालीका सर्वज्ञलाई आउट गरे । १६ वर्षमुनिको छात्रतर्फ गण्डकीका शाश्वत बज्राचार्यले गण्डकीकै स्पन्दन उदासलाई ६–२, ६–३ स्कोरले पराजित गरे भने फिस्टेलका सृजन भट्टराईले भद्रकालीका सन्दीप बिकलाई पराजित गरे ।
१६ वर्षमुनि छात्रातर्फ मैत्रेयकी साल्भीले मैत्रेयकै आरुषीलाई ६–३, ६–२ स्कोरले पराजित गर्दा शिशुनिकेतनकी अदितीले सेन्ट मेरिजकी सरिसा श्रेष्ठलाई ६–२, ७–५, ६–२ स्कोरले पराजित गरिन् । १२ वर्षमुनिको छात्रतर्फ स्पन्दन उदासले डोजन गुरुङमाथि बाजी मारे भने ९ वर्षमुनिको छात्रा खेलमा गुरुकुलका जिओ केसीले सेन्टमेरिजकी बनी एस मेथलागनलाई हराइन् ।
शुक्रबार नै ९ वर्षमुनिको छात्र टेनिसको फाइनलमा फिस्टेलका जीवास भट्टराईले बाजी मार्दा शिशुनिकेतनका इभान भट्टराई दोस्रो बने । ८ वर्षमुनि छात्रतर्फको फाइनलमा पनि फिस्टेलकै जीवास भट्टराईले अनन्त पाण्डेयमाथि जित हात पारे ।
स्पोर्टस फेस्टमा गण्डकी प्रदेशभन्दा बाहिरबाट पनि विद्यालयहरू सहभागी भएको र यस किसिमको खेलले विद्यार्थीहरूको चौतर्फी विकासमा सहयोग पुग्ने कुरामा आफूहरू विश्वस्त रहेको विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद श्रेष्ठले बताएका छन् ।
शनिबारसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिताबाट फुटबल तथा बास्केटबल खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
