पोखरामा मुवाँथाई च्याम्पियनसिपको तयारी तिव्र, पौष ९ गते सुरु हुँदै

पोखरा स्पोर्टस । पोखरामा ९ र १० गते गरि दुई दिन सञ्चालन हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपका लागि तयारी तिब्र पारिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी तिव्र पारिएको हो ।

पोखरा ६ लेकसाइड बाराहीचोकघाटमा मैदानमा हुने प्रतियोगिताका लागि पुर्वाधार तयारीको काम चलिरहेको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । “अहिले तयारी चलिरहेको छ । करिब ६० प्रतिशतभन्दा बढी काम सकिएको छ”– उनले भने ।

मार्सलआर्ट अन्तर्गतको मुवाँथाई व्यवसायीक मार्शल आर्ट खेल हो । प्रतियोगितामा सहभागि हुने सबै खेलाडी व्यवसायिक खेलाडी हुन् । एक प्रतिस्पर्धा अवधारणामा रहेको प्रतियोगितामा सबै विजेता खेलाडीले नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यवसायिक फाइटरहरुको सहभागिता रहने छ ।

“प्रतियोगितामा कुल १६ फाइट हुनेछ । वान फाइट सिस्टममा खेल हुनेछ र प्रत्येक फाइटरले खेल खेले वापत नगद समेत प्राप्त गर्नेछन्” क्षेत्रीले भने,– “यहाँ सबै फाइटर छनोट भएर आएका छन् । थुप्रै क्लबहरुले दर्ता गराएपनि हामीले नेपालका प्रोफेसनल खेलाडीलाई मात्र राखेका छौं । मुवाँथाईको प्रचार र गण्डकी प्रदेशमा यो खेलको विकास गर्नु हाम्रो मुख्य उद्धेश्य हो ।  पर्यटन संग जोडिएको लेकसाइडमा गर्नु भनेको बाह्य पर्यटकलाई आकर्षित गर्नुपनि हो ।” अन्तर्राष्ट्रियस्तरमा यो खेल निकै मन पराउने र लेकसाइडमा गर्दा खेलसँगै पर्यटक प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको विश्वास छ ।

उनका अनुसार खेलाडीहरुका लागि खाना, बस्न र आवश्यक खेल पोशाकको समेत आयोजकले नै व्यवस्था गर्नेछ । प्रतियोगितामा एम्योचर, सेमी प्रो (प्रोफेसनल) र प्रो फाइट (प्रोफेसनल फाइट) गरि तीन विद्यामा खेल हुनेछन् । वान फाइट सिस्टम अनुसार हुने फाइटमा खेलाडीले एक खेलमात्रै खेल्ने क्षेत्रीले जानकारी दिए । पछिल्लो समय मुवाँथाईको लोकप्रिय विश्वमा बढ्दै गइरहेको छ ।

नेपालमा मुवाँथाईको व्यवसायिक खेलाडी उत्पादन गर्ने समेत लक्ष्य रहेको छ । प्रतियोगितामा खेलाडीहरुको विमा समेत आयोजकले गरेको छ । नेपाल राष्ट्रिय मुवाँथाई संघको प्राविधिक सहयोग रहेको छ । कार्यक्रममा विभिन्न व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिहरुको सहयोग रहेको छ । दर्शकले निशुल्क रुपमा प्रतियोगिताको अवलोकन गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close