
पोखरा स्पोर्टस । पोखरा वडा नं ६ लेकसाईडमा सम्पन्न खुल्ला वाल वोल्डरिङ प्रतियोगिताको उपाधि पुरुषतर्फ रोनक उप्रेती र महिलातर्फ स्वस्तिका चौधरीले जितेका छन् ।
गण्डकी प्रदेश क्लाइम्विङ स्पोर्टस एसोसियसनको समन्वयमा तथा वेष्ट स्पोर्टस इनडोर हवको आयोजनामा पहिलो पटक आयोजित उक्त प्रतियोगिता रोनक र स्वस्तिका विजेता बनेका हुन् । यस संगै पुरुषतर्फ सुलभ राई दोश्रो र साजन लामा तेश्रो भएको प्रतियोगिताको संयोजक शिदार्थ केसीले जानकारी दिए ।

प्रतियोगितामा महिलातर्फ मारिका पोलाक दोश्रो हुँदा छोले रोग्स्वी तेश्रो स्थान प्राप्त गर्न सफल भइन् । विजेता खेलाडीहरुलाई आकर्षक खेल सामाग्री सहितको पुरस्कार एवं प्रमाणपत्र वितरण गरिएको थियो ।
पहिलो पटक पोखरामा आयोजित उक्त प्रतियोगितालाई निरन्तरमा दिने तयारी संगै खेलाडी उत्पादनमा समेत अघि बढ्ने योजना रहेको गण्डकी प्रदेश क्लाइम्विङ स्पोर्टस एसोसियसनका सचिव मनशान्त घिमिरेले जनाएका छन् । उनले भने–“सिरिजमा पहिलो पटक यो प्रतियोगिता आयोजना गरेका हौं । त्यसैले पनि यसको महत्व छुट्टै छ । हामी अव ६ महिना पछि यसको दोश्रो सिरिजको तयारी गर्ने छौं ।”
प्रतियोगितामा महिला र पुरुष खेलाडीहरु गरी १७ जनाको सहभागिता रहेको गण्डकी प्रदेश क्लाइम्विङ स्पोर्टस एसोसियसनका अध्यक्ष शेषकान्त शर्माले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“पोखरालाई सहाशिक खेलकुदको गन्तव्य बनाउन यो खेल महत्वपूर्ण छ । धेरै यूवाहरुको आकर्षणको खेल भएकोले पनि यो खेलले पोखराको पहिचान बनाउन भूमिका खेल्नेछ ।”
त्यसै गरि यो खेलका विज्ञ सुनारा बहादुर गुरुङले यो खेलको विकास स्थानियतहबाट गर्न सके खेलाडी उत्पादनमा सहज हुने बताए ।
