एनिभरसरी कप स्क्वासमा अरहान्त र विपना च्याम्पियन

पोखरा स्पोर्टस । अरहान्तकेशर सिंह र विपना ब्लोन एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० मा शनिबार च्याम्पियन बनेका छन् ।

सातदोबाटोमा भएको प्रतियोगिताको पुरुष एकल फाइनलमा नेपालका नम्बर एक अरहान्तले अमिर ब्लोनलाई चार सेटमा ६–११, ११–७, ११–४ र ११–८ ले पराजित गरे । अरहान्तको खेलजीवनको १४ औं एकल उपाधि भएको छ । महिला एकल फाइनलमा विपना ब्लोनले कृष्णा थापालाई चार सेटमै ११–८, ८–११, ११–६ र १३–११ ले निराश बनाइन् ।

यसैगरी यु–१९ गल्र्समा साक्षी सुनुवार फाइनलमा रेनेसा महर्जनलाई सीधा सेटमा ११–२, ११–१ र ११–२ ले हराएर च्याम्पियन बनिन् । सो स्पर्धाको ब्वाइज फाइनलमा विकास तुम्सिङ मगरले पासाङ ब्लोनलाई चार सेटमा ११–७, १२–१४, ११–६ र ११–४ ले पाखा लगाए । यसैगरी मास्टर्स ५० वर्षमाथि छविलाल पाइजा पुन प्रज्ज्वल प्रधानलाई ३–१ सेटमा र प्लेट च्याम्पियन्सिपमा पासाङ ब्लोनले दिव्यराज वज्राचार्यलाई सोझो सेटमा ३–० ले हराएर च्याम्पियन भए ।

नेपाल स्क्वास र्‍योकेट्स संघ स्थापनाको ३५ वर्ष पुगेकोे अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वासको आयोजना भएको हो । प्रतियोगितामा विजयी खेलाडीहरुलाई एक्स स्टेपले पुरस्कार प्रायोजन गरेको थियो ।

भावना र राजेन्द्रको सन्यास


नेपाल स्क्वास र्‍याकेट्स संघले प्रतियोगिताको समापन कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिताबाट सन्यास लिएका दुई अनुभवी खेलाडी भावना सुनुवार र राजेन्द्र शाक्यलाई शुभकामनासहित सम्मानपत्र प्रदान गरी उनीहरुको योगदानको कदर गरेको छ । यी दुवैले घरेलु स्क्वास प्रतियोगितालाई भने निरन्तरता दिनेछन् ।

दुई दशकदेखि स्क्वासमा समर्पित भावना एक दशकभन्दा बढी घरेलु महिला स्क्वासमा दबदबा बनाउने खेलाडी हुन् । चार पटक दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी भएर भावनाले कोलेम्बोमा भएको दशौँ साग, गुवाहाटीमा भएको १२ औँ साग र काठमाडौँमा भएको १३ औँ सागमा नेपाललाई महिला टिम इभेन्टमा कास्य पदक दिलाएकी थिइन् । यसैगरी एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिसकेका राजेन्द्र नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघका केन्द्रीय सदस्य पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close