
पोखरा स्पोर्टस । १८ औं जेपी क्रस विद्यालयस्तरिय छात्र/छात्रा बास्केटबल पोखरामा शुक्रबारबाट रंगशालाको बास्केटबल कोर्टमा सुरु भएको छ ।
कास्की जिल्ला बास्केटबल संघको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको पहिलो दिन छात्रातर्फ ३ र छात्रतर्फ १० गरि १३ खेल सम्पन्न भएका छन् । लिग कम नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा छात्रतर्फ फिसटेल एकेडेमीले माउन्ट अन्नपूर्णलाई ४५–१९ को स्कोरले पराजित गरेको छ । फिसटेलले आफ्नो पहिलो खेल हिलपोइन्ट विरुद्ध ३१–२४ ले जितेको थियो ।
आज नै सम्पन्न अन्य खेलमा शिसुनिकेतनले दुई खेल गुमाएको छ । स्टेप वाई स्टेप संग १७–१५ ले र बालकल्याण संग २५–१२ ले पराजित भएको हो । ग्लोबल कलेजियटले एक खेलमा जित र एक खेलमा हार व्यहोरेको छ । एलए मावि संग ४३–४२ को झिनो स्कोरमा पराजित भए पनि ग्लोबलले सरस्वती आदर्श विद्याश्रम संग २२–२१ ले जित निकालेको छ । यता एलएकले एक खेल सरस्वती आदर्श विद्याश्रम संग ३१–२९ ले जितेको छ । स्पाइरल ग्यालेक्सीले नवआर्दश विरुद्धको खेलमा ४२–१२ ले जित निकाल्दा प्रगतीले मनकामनालाई ३५–१९ ले जित दर्ता गर्न सफल भयो । अल्फाले आफ्नो एक खेल टप्स विरुद्ध ३८–१६ ले जित्न सफल भयो ।
त्यस्तै छात्रातर्फ फिसटेलले गोगन मावि विरुद्ध ३०–० ले जित्दा गण्डकी बोर्डिङले सरस्वती विद्यश्रमलाई १८–८ ले र एलएले गोगन माविलाई १४–६ ले जितेको छ ।
यसै विच प्रतियोगिताको एक भव्य कार्यक्रमका विच वरिष्ठ समाजसेवी एवं वृटिश सेनाका कर्नल (रि) जेपी क्रसले गरेका छन् । सो अवसरमा बोल्दै कर्नल (रि) जेपी क्रसले विद्यार्थीहरुलाई आत्मबल बढाउने गरि प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरेका छन् । आफ्नो यौवनकालमा यूद्धमा भएको घटनाको स्मरण गर्दै मृत्युको मुखमा पर्दा समेत आफू भित्र रहेको आत्मबलले शत्रुलाई परास्त गर्दै आफ्नो कमाण्डमा रहेको सेनालाई सकुशल यूद्धको भूमीबाट बाहिर ल्याएको उल्लेख गरे ।

यहि पौष १५ गते एक सय वर्षगाँठ मनाउने तयारी गरिरहेका कर्नल (रि) जेपी क्रसले कृषि कर्मका कारण विगतमा मानशिक र शारिरिक दुवै शक्ति प्राप्त भए पनि हाल त्यो अवस्था नरहेको चर्चा गर्दै अहिलेको आधुनिक युगमा मानशिक संगै शारिरिक सन्तुलन बनाई राख्न खेलकुद अपरिहार्य रहेको जनाए । आफू खेलप्रेमी भएकै कारण यूवाहरुलाई खेलकुदमा आकर्षण गर्न सहयोग गर्दै आएको उल्लेख गर्दै आफू उपस्थित भएर खेल मैदानमा आउन पाउँदा गर्व लागेको बताए । आफू १० कक्षा पढ्दा पढ्दै यूद्धमा होमिएको विगतलाई सम्झिंदै आफ्नो यात्रामा २६ वटा पुस्तक समेत प्रकाशन गरेको उनले उल्लेख गरे ।
उद्घाटनका अवसरमा कर्नल (रि) जेपी क्रसले केक समेत काटेर आफ्नो सयौं वर्षगाँठ समेत मनाए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले यूवा खेलाडी उत्पादनका लागि यो प्रतियोगिता महत्वपूर्ण रहेको जनाउँदै प्रतियोगिताको पूर्ण सफलताको कामना गरे ।
कास्की बास्केटबल संघका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँ, संघका सचिव विगनेश थापाले समेत आफ्ना भनाई राख्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्नेहरु प्रति आभार प्रकट गरेका छन् ।
पौष २ गते चार दिन सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरि प्रतियोगिता आयोजना गरिएको कास्की बास्केटबल संघका अध्यक्ष गुरुङले जनाएका छन् ।
विश्वभर फैलिएको कोभिड १९ को सक्रमणको तिन वर्ष पछि उक्त प्रतियोगिताले निरन्तरता पाएको हो । प्रतियोगितामा छात्र–छात्रा दुबैतर्फको उपाधि विजेताले नगद २०–२० हजार र उपविजेताले नगद रु १५–१५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने प्रतियोगिताको बेस्ट प्लेयर र हाइस्कोररलाई विशेष आकर्षक पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ ९ गरि कूल २८ टिमको सहभागिता रहेको छ ।
