पोखरा स्पोर्टस । पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरिय पिएम कप महिला टि२० क्रिकेट छनौटमा स्याङजाले लगातार तेश्रो जित हात पार्दै ६ अंकका साथ शिर्षस्थानमा रहन सफल भएको छ ।
गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा जारी छनौट प्रतियोगितामा बिहिबार भएको खेलमा कास्कीलाई २५ रनले जित्दै शिर्षस्थानमा रहन सफल भएको हो । जारी प्रतियोगितामा कास्की एक खेलमा जित र एक खेलमा हार संगै २ अंकका साथ दोश्रो स्थानमा रहँदा नवलपुर समेत एक जित र एक हारका साथ २ अंकका सात तेश्रो स्थानमा रहेको छ ।
पर्वत भने आफ्ना तिन खेलमा पराजित हुँदै छनौट खेलबाट बाहिरिएको छ । शुक्रबार एक मात्र खेल कास्की र नवलपुरका विच हुने संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
बिहिबार भएको दोश्रो खेलमा स्याङजाले कास्कीलाई जितका लागि ९१ रनको लक्ष्य दिए पनि १७.५ ओभरमा कास्की सबै विकेट गुमाउँदै ६५ रन मात्रै बनाउन सक्यो । यस अघि पारीको सुरुवात गरेको स्याङजाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा ९० रन बनाएको थियो । स्याङजाका लागि म्यान अफ दि म्याच समेत रहेकी अन्जली विश्वकर्माले अर्धशतक बनाइन । उनले ४४ बलमा ५१ रनको योगदान दिंदा अर्मिना अधिकारीले ३९ बलको सामना गर्दै टिमका लागि १२ रन जाडिन् ।
कास्कीका लागि शर्मिला गुरुङले ३ ओभरको स्पेलमा १२ रन खर्चिएर २ विकेट लिंदा शिला रेग्मी र सृष्टि जैशीले समान १–१ विकेट हात पारे ।
यता कास्कीका लागि विन्दु थापा मगरले १६ र रचना चौधरीले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । स्याङजाका लागि ज्योत्सिना मरासिनीले ३ ओभरमा १५ रन दिएर ३ विकेट तथा कुशुम गोदार, आकृती तिवारी, र निरु जिटीले समान १–१ विकेट हात पारे ।
त्यस्तै आज नै भएको एक अर्को खेलमा नवलपुरले पर्वत विरुद्धको खेलमा ७० रनले जित हात पारेको छ । नवलपुरले २० ओभर ९ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । यता पर्वत जवाफी व्याटिङमा १८.३ ओभरमा ४९ रन मात्रै बनाउन सक्यो । नवलपुरकी आयुष्मा चापागाईले सर्वाधिक ३६ रनको योगदान दिइन भने यता पर्वतकी कृषा अखेलीले ४ ओभरमा एक मेडनसहित ७ रन दिएर ६ विकेट लिएकी थिइन् ।
