
पोखरा स्पोर्टस । पोखरामा निरन्तर रुपमा आयोजना हुँदै आएको प्रतियोगिता मध्येको एक “माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता”को २० औं सस्करणको तयारी सुरु भएको छ ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने करिव ८ लाख नगद पुरस्कार राशी रहेको नेपालको ऐतिहासिक टेनिस प्रतियोगिता माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरा रंगशालाको टेनिस कोर्टमा सञ्चालन हुनेछ ।
यहि पौष १० गते देखि १४ गते सम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन विभिन्न देशका खेलाडीहरु पोखरा आउने भएको कास्की टेनिस संघका उपाध्यक्ष एवं टुर्नामेन्ट डाइरेक्टर नविन चालिसेले जनाएका छन् ।
प्रतियोगितामा सहभागिताका लागि नेपालका विभिन्न प्रदेश र जिल्लाहरुसहित मित्रराष्ट्र भारत, बेलायत, बंगालादेश लगायतका मुलुकहरुबाट खेलाडीहरु पोखरा आउने तयारी गरिरहेको उपाध्यक्ष चालिसेले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले आकर्षक नगदका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले समेत नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।
“२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” सम्पन्न गर्न २० लाख भन्दा वढि खर्च हुने कास्की टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङले जनाउँदै पोखराको धरोहरको रुपमा रहेको उक्त प्रतियोगितालाई सफल बनाउन सबै संग आग्रह गरेका छन् ।
