
पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत डबल्स पुरुषतर्फ नेपाली मुलका अमेरिकी खेलाडी आरभ सम्राट हाडा र जापानका रिकु हिगासीको जोडी विजेता बनेका छन् ।

शुक्रबार पोखरा रंगशालामा भएको फाइनल खेलमा भारतका ओजास मेलावाट र अधिराज ठाकुरको जोडीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गर्दै विजेता बनेका हुन् । महिला डबल्सतर्फ जापानकी उता आसाकुरा र भारतका इशी महेश्वरीको जोडी प्रथम भएका छन् । फाइनल खेल खेलमा यो जोडीले भारतका भेनेला रेड्डी गारुगुपाटी र सायवी सायवी गौरव दलालको जोडीमाथि ६–३, ६–३ को नतिजा निकाले ।
प्रतियोगिताको पुरुष सिंगल्सतर्पm उपाधीका लागि आरभ सम्राज हाडा र एलेक्से सिवोइव भिड्ने भएका छन् । आरभले जापानका रिकु हिगासीलाई ६–३, ६–३ ले तथा एलेक्सेले भारतका जेसन डेभिडलाई वाकओभरमा जित हासिल गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
त्यस्तै महिलातर्फ जापानका उता आसाकुरा र भारतका अर्जान खोराकीवालाले फाइनलमा स्थान सुरक्षित पारे । आसाकुराले भारतका अन्भि पुनागाण्टीलाई ६–१, ६–१ ले तथा खोराकीवालाले भारतकै भामिका शर्मालाई ६–१, ६–० ले पराजित गर्दै फाइनलमा पुगेका हुन् । प्रतियोगिताको समापन शनिबार हुने छ ।
डबल्सतर्फका विजेताहरुलाई गण्डकी प्रदेशका पूर्व यूवा तथा खेलकुद मन्त्री एवं सांसद राजिव गुरुङले एक कार्यक्रमका विच मेडल वितरण गरे । सो अवसरमा प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङले आइटिएफ टेनिस प्रतियोगिताले खेलको विकास संगै पर्यटन विकासका लागि भूमिका खेल्ने बताए । कार्यक्रममा कास्की टेनिसका सचिव नविन श्रेष्ठले समेत आफ्ना भनाई राखेका थिए ।
डबल्सतर्फ पदक वितरण कार्यक्रम कास्की टेनिसका अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको थियो ।
