
पोखरा स्पोर्टस । पोखरामा कोरियाली प्रशिक्षकहरुले तेक्वान्दोको हाइपर्फमेन्स प्रशिक्षण दिइरहेका छन् ।
नेपाली प्रशिक्षकहरुलाई तेक्वान्दोको शिप तथा क्षमता अभिवृद्धि गर्न नेपाल तेक्वान्दो संघले उक्त प्रशिक्षण प्रदान गरेको हो । पाँच दिन सम्म सञ्चालन हुने उक्त प्रशिक्षण बुधबार चौथो दिन जारी रहेकै समयमा कोरियाली प्रशिक्षक पार्क जु सिकले यो प्रशिक्षणले नेपाली प्रशिक्षकहरुलाई खेल विज्ञान संगै तेक्वान्दो खेलको क्षमता विकासका लागि प्रभावकारी हुने बताए ।

किम योङ विश्वविद्यालयका समेत प्रोफेसर पार्कले कोरियामा गराइने प्रशिक्षण र नेपालका विच निकै भिन्नता रहेको बताउँदै तेक्वान्दोको विकासका लागि स्पोर्टस साइन्सलाई समेत आत्मसात गर्न सके अझै निखरता आउने बताए । उनले भने–“तेक्वान्दो खेल मात्रै होइन यो विज्ञान समेत् हो । म नेपाली प्रशिक्षकहरुलाई अझै बढि यसतर्फ प्रेरित हुन आग्रह गर्दछु ।” कोरियामा तेक्वान्दोको विशेष अध्ययन अध्यापन हुने समेत भएकोले कोरिया र नेपालको तेक्वान्दो निकै भिन्नता रहेको उनको भनाई थियो ।
प्रोफेसर पार्कले नेपाली प्रशिक्षकहरुलाई थप अध्ययन तथा प्रशिक्षणका लागि आफ्नो विश्वविद्यालयले सहयोग गर्ने बताउँदै यसका लागि आफूले सक्दो सहयोग गर्ने समेत बताए । उनले भने–“दक्षिण कोरियाको राष्ट्रिय खेलको रुपमा रहेको तेक्वान्दो खेलका लागि नेपाली प्रशिक्षकहरुका लागि अध्ययनका लागि सहयोग गर्न तयार छौं,”–उनले भने । काठमाण्डौ र चितवनमा समेत प्रशिक्षण दिइसकेका उनले पोखराको प्रशिक्षण उत्कृष्ट रहेको भन्दै प्रशंसा समेत गरे ।
प्रशिक्षणका बारेमा जानकारी दिंदै तेक्वान्दो प्रशिक्षक कविराज खड्गीले नेपालका चार जिल्लामा विभिन्न डोजाङका प्रशिक्षकहरुलाई हाइपर्फमेन्स प्रशिक्षण प्रदान गरिएको बताए । विज्ञानमा आधारित हाइपर्फमेन्स प्रशिक्षण कार्यक्रम राष्ट्रिय खेलाडीहरुलाई प्रदान गर्न सके नेपाली खेलाडीहरुको अन्तर्राष्ट्रिय प्रदर्शनमा सुधार आउने बताए । उनले भने–“अहिले हामीले नेपालका तिन जिल्लाका विभिन्न डोजाङका ४ सय प्रशिक्षकहरुलाई यो प्रशिक्षण प्रदान गरेका छौं । यसले युवा खेलाडी उत्पादनमा सकरात्मक प्रभाव पर्ने विश्वास लिएका छौं ।”
पोखरामा गत ४ दिन अघिबाट सुरु भएको प्रशिक्षणमा विभिन्न डोजाङका ३१ जना सहभागिता रहेको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले जानकारी दिए । प्रशिक्षणमा तेक्वान्दोका ३ डान भन्दा माथीका प्रशिक्षकहरुले सहभागिता जनाएका छन् ।
सो अवसरमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेल, अर्का कोरियाली प्रशिक्षक क्वाङ वेय पार्कलगायतको सहभागिता रहेको थियो । तेक्वान्दोको हाइपर्फमेन्स प्रशिक्षण नेपालमा पहिलो पटक आयोजना गरिएको हो ।
