
पोखरा स्पोर्टस । सहारा क्लव पोखराले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा विदेशी अमेरिकी क्लवसहित १० टिमको सहभागिता हुने भएको छ । यहि पौष १४ गते देखि २३ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने आहा ! रारा पोखरा गोल्डकपमा सहभागिता जनाउने १० टिमको टुङ्गो लागेको सहाराले जनाएको हो ।

“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित प्रतियोगितामा गत संस्करणको उपाधि विजेता शसस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र गत वर्षको उपविजेता मनाङ मर्स्याङदी क्लबसहित १० टिमको सहाभागिता हुने भएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले एक विज्ञप्तीमार्फत जनाएका छन् ।
यसै गरी प्रतियोगितामा नेपाल प्रहरीको नेपाल प्रहरी फुटबल क्लब, नेपाली सेनाको त्रिभुवन आर्र्मी फुटबल क्लब, काठमाण्डौको मछिन्द्र क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, धरान फुटबल क्लब, आयोजक सहारा क्लब र विदेशी क्लब अमेरिकाको बि.वाई एस.सी, एमन, अमेरिकाको सहभागिता हुने आयोजक सहारा क्लवले जनाएको छ ।
सहाराले २२ औं सस्करणको आहा रारा गोल्डकप यस अघि पौष १३ गतेबाट आयोजना गर्ने गरी घोषणा गरे पनि एन्फा कास्कीको अनुरोधमा पौष १४ गतेबाट प्रतियोगिता सुरु गर्नु पर्ने बाध्यता रहेको उल्लेख गरेको छ ।
आहा ! रारा पोखरा गोल्डकपको उपाधि विजेताले नगद १२ लाख प्राप्त गर्नेछ । यो गत वर्ष भन्दा नगद २ लाख बढि हो । त्यसै गरी उपविजेताले रु.६ लाख नगद प्राप्त गर्नेछ । यो गत वर्षको संस्करण भन्दा १ लाखले बढि हो । २०५८ सालमा क्याराभान गोल्ड कपलाइ गणना गर्दै २२ औं संस्करण बाट नामांकित यस प्रतियोगितामा वचत हुने रकम क्लबबाट संचालित सुर्य बहादुर केसी स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ । हाल एकेडेमीमा तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना बालकहरु रहेका छन् । सहारा क्लब हंगकंगले प्रतियोगिता संचालनको लागि नगद रु ३ लाख सहयोग उपलब्ध गराउने जानकारी आयोजकले दिएको छ ।
आहा ! रारा गोल्डकपमा प्रत्येक खेलको म्यान अफ दि म्याच ट्रफी र नगद पुरस्कार तथा उत्कृष्ट पाँच विद्याको ट्रफी (वेष्ट अफ फाइभ) र नगद सहारा यूकेले प्रायोजन गर्ने भएको सहारा क्लव पोखराले जनाएको छ ।
प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । उत्कृष्ट पाँच विधाको पुरस्कार सुर्य बहादुर के.सी. स्मृतिमा प्रदान गरिने छ । सह उप प्रायोजक मुल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी र चरक मेमोरियल हस्पिटल, एजुकेसन पार्टनर हिमाअस कन्सल्टेन्सी, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र अखिल नेपाल फुटबल संघ र क्षेत्रीय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला फुटबल संघ, सहारा क्लब यूके, हङ्गकङ्ग र अष्ट्रेलियाको समेत बिशेष सहयोग तथा पोखरा महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिताको आयोजना गर्ने लक्ष्य लिएको जनाएको छ ।
प्रतियोगिताको कुल अनुमानित आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैया र कुल अनुमानित खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ अनुमान आयोजकले गरेको छ ।
