राष्ट्रपति कप : प्रदेश खेलकुदहरुद्वारा रकम अभाव भएको भन्दै ध्यानकषर्ण, निरन्तरतामा प्रश्न

पोखरा स्पोर्टस । नेपाली खेलकुदमा यूवा खेलाडी उत्पादनमा महत्वपूर्ण ‘प्लेटफर्म’को रुपमा रहेका राष्ट्रपति कप राष्ट्रिय प्रतियोगिता आयोजनामा रकम अभावमा निरन्तरता हुन नसक्ने जनाउँदै प्रदेश खेलकुद परिषदहरुले ध्यानकर्षण गराएका छन् ।

विभिन्न प्रदेशका परिषदहरुले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई पत्र लेखि ध्यानकर्णण गराउँदै प्राप्त बजेटले राष्ट्रपति कप सञ्चालन गर्न समस्या भएको जनाएका हुन् । १४ औं सस्करणको तयारी भइरहेकै बेला प्रदेश खेलकुदहरुले प्राप्त बजेटले खेलाडीहरुको छनौट, बन्द प्रशिक्षण, व्यवस्थापन तथा आयोजनामा नै समस्या भइरहेको जनाएका हुन् । सुदुर पश्चिम खेलकुद विकास परिषदका सदस्य सचिव दिपक बहादुर सिंह र बागमती प्रदेशका सदस्य सचिव सूर्य बहादुर भण्डारीले राखेपलाई पत्र पठाउँदै ध्यानकर्षण गराएका छन् । 

राष्ट्रपति कप अन्तर्गत टिम गेम्सतर्फ छात्र/छात्रा भलिबल र कबड्डी, एथलेटिक्स तथा मार्शलआर्ट तर्फ उशु, तेक्वान्दो, कराते गरि ६ खेलहरु आयोजना हुने गरेका छन् । 

सम्माननिय राष्ट्रपतिको नाउँमा निरन्तरता रहेको राष्ट्रपति कप पालिका, जिल्ला, प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिता आयोजना हुँदै आएका छन् । नेपाल सरकारले राखेप मार्फत हरेक पालिकास्तरिय राष्ट्रपति कप आयोजना गर्न १ लाख, जिल्लास्तरियका लागि प्रदेश खेलकुद परिषद मार्फत संख्याको आधारमा ३ देखि ४ लाख र प्रदेशस्तरिय प्रतियोगिताका लागि २२ देखि २५ लाख सम्म बजेट विनियोजन हुने गरेको छ ।

पालिकास्तरिय प्रतियोगिता आयोजना गर्दानै ३ देखि ५ लाख खर्च हुने गरेको छ भने जिल्लास्तरिय आयोजना गर्दा अनुमानित १२ देखि १५ लाख खर्च हुने गरेको आयोजकले बताउँदै आएका छन् । राखेपले दिएको रकम खेलाडीहरुको दैनिक भत्ता र खेल पोशाक, व्यवस्थापन, रेफ्रीहरुको भत्ता, मैदान व्यवस्थापनका लागि पुर्याउन निकै समस्या भएको जिल्ला खेलकुद विकास समितिहरुको भनाई छ । त्यसै गरि प्रदेशमा प्राप्त हुने बजेट समेत पुर्याउन समस्या भए पछि प्रदेश खेलकुद परिषदहरुले बजेट अभाव भएको भन्दै निरन्तरतामा प्रश्न उठाएका  हुन् ।

प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले गण्डकी प्रदेशका ८५ वटा पालिकालाई ८५ लाख, ११ वटा जिल्लाका लागि ४३ लाख र गण्डकी प्रदेशस्तरियका लागि २२ लाख प्राप्त भएको बताए । त्यस्तै प्रदेश खेलकुद परिषदले समेत तयारीका सम्वन्धमा बजेटका विषयमा छलफल भइरहेको सदस्य सचिव शर्माले जनाउँदै भने–“जिल्लाहरुमा आयोजनाका लागि ३ देखि ३ लाख ५० हजार हामीले पठाउने गरेका छौं । तर हरेक वर्ष गुनासो मात्रै आइरहेको छ । सबै जिल्लामा सुविधा सम्पन्न खेल पूर्वाधार छैनन । जिल्लास्तरियमा नै समस्या आइरहेको छ । पालिकाको त कुरै छाडौं । १ लाखले कस्तो प्रतियोगिता आयोजना हुन्छ ? यो सोचनिय विषय हो ।”

गण्डकी प्रदेमा केन्द्रले छुट्टाएको २२ लाख कम भए पछि यो वर्ष गण्डकी प्रदेश सरकारले थप २५ लाख बजेट विनियोजन गरेको सदस्य सचिव श्रीधर शर्माले बताए । प्रदेशस्तरिय आयोजना गर्दानै अनुमानित १ करोड भन्दा वढि खर्च हुने उनले जनाए ।

गण्डकी प्रदेशमा विभिन्न ६ खेलका ११ जिल्लाका करिव १ हजार २ सय ३२ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरि प्रदेशस्तरिय छनौट प्रतियोगितामा सहभागि हुन्छन् । तर केन्द्र बाट प्राप्त २२ लाखले आयोजनामा नै समस्या हुने सदस्य सचिव शर्माले उल्लेख गरे ।

नेपालमा खेलाडी उत्पादनका लागि मुख्य कडिको रुपमा रहेको राष्टपति कपमा सहभागिता जनाउन समेत उत्कृष्ट खेलाडीहरुले दकश मान्न थालेका छन् । उनीहरुले भन्ने गरेका छन्–“नत उत्कृष्ट व्यवस्थापन हुन्छ । नत खेल पोशाक नै ।” छनौट भएर केन्द्रियस्तरको प्रतियोगितामा सहभागितामा जाँदा समेत व्यवस्थापन निकृष्ट हुने हुने गरेको खेलाडीहरुले गुनासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close