
पोखरा स्पोर्टस । मोटरसाइकल दुर्घटनामा निधन भएका भलिबलका राष्ट्रिय खेलाडी सन्तोष बहादुर थापाको सम्मानमा बिहिबार गण्डकी प्रदेश भित्र हुने भलिबल प्रतियोगिताहरु स्थागित हुने भएका छन् ।
गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङका अनुसार सन्तोषको सम्मानमा प्रदेश भित्र सञ्चालन भइरहेका सम्पूर्ण भलिबल प्रतियोगिताहरु स्थगित गर्ने जनाएका हुन् । उनले भने–“प्रदेशको भलिबलले ठूलो क्षती व्यहोरेको छ । एक उत्कृष्ट यूवा खेलाडी हामीले गुमाउन पुगेका छौं । म उनको निधन प्रति प्रदेश भलिबल संघको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । हामी उनको सम्मानमा प्रदेश भित्र सञ्चालन भइरहेका सम्पूर्ण भलिबल प्रतियोगिताहरु स्थागित गर्न पोखरा स्पोर्टस मार्फत आह्वान गर्दछौं ।”
२२ वर्षिय सन्तोष्को मंगलबार राती करिव ११ बजे मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । वालिङबाट एक प्रतियोगितामा सहभागि भएर आफ्नो घर स्याङजा चापाकोट फर्कनेक्रममा उनी दुर्घटनामा परेका थिए ।
सन्तोषको भोली बिहिबार स्याङजा चापाकोटस्थित कालीगण्डकी घाटमा अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम रहेको संघका महासचिब टहल सिंह थापा मगरले जानकारी दिएका छन् । उनलाई श्रद्धाञ्जली दिनु अघि उनको सम्मानमा पार्थीव शरिरमा प्रदेश भलिबल संघको झण्डा ओढाइने भएको उनले जनाए ।
भलिबलका ओपन स्पाइकर सन्तोषले गण्डकी प्रदेशको तर्फबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, राष्ट्रिय यू–२३ भलिबल छनौट प्रतियोगिता तथा पहिलो, दोश्रो र तेश्रो सस्करणको टाइगर कप भलिबल प्रतियोगितामा निरन्तर सहभागि थिए । उनले करिव एक वर्ष शसस्त्र प्रहरीको एपिएफ क्लवबाट समेत खेलेका थिए ।
यसै बिच प्रदेश खेलकुद परिषदका सदस्य सचिव एवं नेपाल भलिबल संघका सचिव श्रीधर शर्माले सन्तोषको असमायिक निधन प्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्–“उनको असमायिक नधिन प्रति म भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछु । साथै उनको परिवारमा समवेदना प्रकट गर्दछु । एक यूवा भलिबल खेलाडीको निधनले गण्डकी प्रदेशको भलिबलका लागि अपुरणिय क्षती पुगेको छ ।”
