
पोखरा स्पोर्टस । पोखरा इन्टरनेशनल माउन्टेन क्रश कन्ट्रि रेशमा विद्यार्थीहरुको ५ किमि सडक दौड समावेश गरिने भएको छ ।
पोखरा होटल संघ र युनान माउन्टेनियरिङ्ग एण्ड आउटडोर स्पोर्टस एसोसियसन चिनको शंयुक्त आयोजनामा उक्त प्रतियोगिता यहि मंसिर ९ गते हुने भएको हो । पोखरामा आयोजना हुने उक्त क्रश कन्ट्रि दौडमा विद्यार्थीहरुलाई समेत खेलकुद प्रति आकर्षण बढाउन आकर्षक नगद पुरस्कार राशी सहित ५ किमि सडक दौड समावेश गरिएको प्रतियोगिताका लागि प्रमुख समन्वयकारी भूमिका खेल्ने विश्व शंकर पालिखेले जानकारी दिएका छन् ।
चिनबाट १५० जना धावक पोखरा आउँदै
यसै विच पोखरा इन्टरनेशनल माउन्टेन क्रश कन्ट्रि रेशमा सहभागिताका लागि चिनबाट १५० जना धावकहरु पोखरा आउने भएका छन् । यति ठूलो संख्यामा खेलाडीहरु नेपाल आएको सम्भवतः पहिलो हो । सहाशिक खेलको रुपमा रहेको क्रश क्रन्ट्रि दौडमा सहभागि हुने खेलाडीहरु विमान चार्टर गरि चिनबाट सोझै पोखरा आउने तयारी समेत भएको पालिखेले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् । प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न पोखरा महानगर पालिका, चिनिया राजदुतावास, नेपाल पर्यटन बोर्डले संयोजनको भूमिका खेलेको पालिखेले जनाए ।
पोखरा इन्टरनेशनल माउन्टेन क्रश कन्ट्रि रेश अन्तर्गत आयोजना हुने ५ किमि छात्र/छात्रा सडक दौडमा प्रथम, द्वितिय, तृतिय, चौथो र पाँचौ स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमश जनही नगद रु.२५ हजार, २० हजार, १५ हजार, १० हजार ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । त्यसै गरि सहभागि मध्ये २५ औं स्थान सम्म प्राप्त गर्ने खेलाडीलाई मेडल समेत प्रदान गरिने भएको आयोजकले जनाएको छ ।
१८ वर्ष मुनीको उक्त दौडमा छात्रतर्फ २ सय छात्रातर्फ १ सय जना गरि कुल ३ सय जनालाई सहभागि गराइन लागेको आयोजकले जनाएको छ । मंसिर ७ गते अन्तिम दर्ताका लागि आह्वान गरिएको छ । उक्त दौड वाराहीघाट बाट सुरु भएर विरौटा चोकमा पुगि सम्पन्न हुनेछ ।
