
पोखरा स्पोर्टस । पोखरामा सोमबारबाट आइटिएफ जे३० अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता आज बाट सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले एक समारोहका विच गरेकी छन् ।


सो अवसरमा मन्त्री सिंखडाले प्रतियोगिताले गण्डकी प्रदेशको पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइन् । प्रदेश सरकारले खेलकुद विकासका लागि योजनावद्ध रुपमा अघि बढाएको बताउँदै उनले भनिन–“यो प्रदेशमा खेल पर्यटन मार्फत यहाँको पर्यटन क्षेत्रको विकासका लागि अहम भूमिका खेलेको छ,” उनले भनिन–“प्रदेश सरकार टेनिस खेलको विकासका लागि आवश्यक सहकार्य गर्न तयार छ ।”
दुुई साता लामो सञ्चालन हुने प्रतियोगितालाई अनुशासित र मर्यादित बनाउँदै लैजान पर्ने विषयमा जोड दिंदै मन्त्री सिंखडाले खेल क्षेत्रलाई व्यवसायिक बनाउँदै अघि बढ्नु पर्ने बताइन् । उनले भनिन–“खेल क्षेत्रलाई व्यपारिककरण गर्ने नभई व्यवसायिक हुन आवश्यक छ । हामी सबै मिल्यौ भने यस खेल क्षेत्रका विसंगतीहरु हटाउन सहज हुनेछ ।”
उद्घाटन कार्यक्रममा मन्त्री सिंखडाले नेपालका नं १ टेनिस खेलाडी प्रदिप खड्का र नेहाल जङ्ग थापालाई सम्मान समेत गरेकी थिइन् । खड्का र थापाले हालै काठमाण्डौमा सम्पन्न गणेशमान सिंह राष्ट्रिय टेनिसका डवल्सतर्फका स्वर्ण पदक विजेता हुन् भने खड्काले सिंगल्सतर्फ समेत उपाधि जितेका थिए ।
कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल पर्यटन वोर्ड कार्यालय पोखराका प्रमुख नविन पोख्रेलले नेपालको पर्यटन विकासका लागि खेल क्षेत्रको विकास अपरिहार्य हुने विषयमा जोड दिए । उनले खेलकुदलाई जित र हार लाई मात्रै नभई समाज परिवर्तनका लागि समेत महत्वपूर्ण भूमिका खेल्ने बताए । सहभागि खेलाडीहरुलाई स्वगात गर्दै उनले भने–“पोखरा टेनिस खेलका लागि एक महत्वपूर्ण ठाउँ हो । म सहभागि खेलाडीहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु । यहाँहरुले आफ्नो खेल जिवनमा पोखरामा आफूले खेलेको क्षणलाई संधै अविष्मरणिय बनाई रहनेछ ।”
कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव नविन श्रेष्ठले समेत आफ्ना भनाई राखेका थिए ।
प्रतियोगितामा सहभागिता जनाउन पुरुषतर्फ क्वालिफाइङ्ग र मेन ड्र गरि ६४ खेलाडीको सहभागिता रहने बताइएको छ । त्यसैगरि महिलातर्फ विभिन्न राष्ट्रका ४७ खेलाडीको सहभागिता हुनेछ ।
पुरुषतर्फ भारतबाट ४४, रसियाबाट १, अमेरिकाबाट २, जापानबाट ४, नेपालबाट १०, क्यानडाबाट १, चिनबाट १ र श्रीलंकाबाट १ जना खेलाडीले भाग लिनेछन् । महिलातर्फ जापानबाट १, थाइल्याण्डबाट १ जना, अमेरिकाबाट १ जना, भारतबाट ३० जना, नर्वेवाट १ जना, काजकिस्तानबाट १ जना र नेपालबाट ७ जना खेलाडीले भाग लिने प्रतियोगितामा सहभागि हुने कास्की जिल्ला टेनिस संघका अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगितामा विजेता खेलाडीले ३० अंक, उपविजेताले १८, सेमिफाइनलिष्टले ९, क्वाटरफाइनलिष्टले ५ र राउण्ड अफ सिक्सिटिनमा पुग्नेले आइटीएफको २ अंक पाउने छन् ।
नेपालमा सन २०१७ बाट सुरु भएको हो भने पोखरालाई केन्द्रित गर्दै सन २०१८ मा सुरु भएको हो ।
