
पोखरा स्पोर्टस । आधुनिक खेलको प्रारम्भ भएको दिनलाई सम्झिदैं गण्डकी प्रदेश स्तरिय वक्तृत्वकला प्रतियोगिता शुरु भएको छ ।
गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयको सहयोग, प्रदेश खेलकुद परिषद गण्डकी र जिल्ला खेलकुद विकास समिती कास्कीको आयोजना, नेपाल ओलम्पिक कमिटी र स्पोर्टस फर अल कमिसन गण्डकीको तत्वाधान तथा नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको सहकार्यमा शुरु भएको हो ।

भर्चुअल माध्यमद्वारा शुरु भएको वक्तृत्वकला प्रतियोगिताको उद्घाटन गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जिवनराम श्रेष्ठले आजको दिनले विश्वलाई एउटै छाता मुनी गोलवद्ध गर्न सहयोग पुगेको बताए । उनले भने–“ओलम्पिक दिवशले विश्वलाई एक ठाउँमा ल्याउन तथा शान्तीको सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।”
खेलकुदको विकास ‘मुभ’, लर्न र ‘डिसकभर’ गरी तिन मुल मर्ममा आधारित रहेको बताउँदै अध्यक्ष श्रेष्ठले समाजमा खेलकुदको जग बलियो गरी स्थापित गर्न ओलम्पिक अभियान अघि बढेको धारणा राखे । संयूक्त राष्ट्र संघले सन २०३० सम्म दिगो विकासको लक्ष्य प्राप्त गर्न ओलम्पिक संग सहकार्य गर्दै अघि बढेको बताउँदे अध्यक्ष श्रेष्ठले भने–“यो अभियानलाई स्थापित गर्न प्रदेश खेलकुद परिषद गण्डकी अघि बढेकोमा आभार व्यक्त गर्न चाहन्छु ।”
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले ओलम्पिक मानव सभ्यताको प्रतिक रहेको बताउँदै वौद्धिक रुपमा समेत खेलकुद उजगार गर्न आजको दिन महत्वपूर्ण रहेको बताए । उनले प्रदेश खेलकुदको अभियानमा यूवा विद्यार्थीहरुलाई सँगै लिएर र अवसर प्रदान गर्न कोभिड १९९ का महामारीका विच पनि वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताए ।
उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष तोरण बहादुर वानियाँ, स्पोर्टस फर अल कमिसन गण्डकीका संयोजक खड्ग बहादुर रानाभाट, कार्यक्रमका संयोजक तथा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले खेलकुद विकास र ओेलम्पिक डेको महत्वका बारेमा आफ्ना धारणा राखेका थिए ।
“राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरण लागि खेलकुद” विषयमा तिन दिन सम्म चल्ने गण्डकी प्रदेश मावी स्तरिय वक्तृत्वकला प्रतियोगितामा गण्डकीका १ सय ८ विद्यालयका २ सय १८ विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा उत्कृष्ट हुने मध्ये प्रथम, द्वितिय, तृतिय, चौथोले क्रमश नगद, १५, १०, ७, र ५ हजार र पाँचौ देखि दशौं सम्म जनही नगद २ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने सहभागीहरुले समेत नेपाल ओलम्पिक कमिटीको तर्फबाट सहभागिताको प्रमाणपत्र प्राप्त गर्नेछन । आजबाट शुरु भएको प्रतियोगिता असार १२ गते सम्म सञ्चालन हुने छ ।
