
पोखरा स्पोर्टस । ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ आगामी चैत ७ गते आयोजना हुने भएको छ ।
छैठौं संस्करणको अवार्ड आगामी चैत ७ गते हुने गरी तयारीमा जुटेको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले बताएका छन् । ‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्दै आएको छ,’ उनले भने, ‘छैटौं संस्करणलाई थप स्तरीय बनाउनका लागि अहिलेदेखि नै तयारी थालेका छौं । यसपाली खुल्ला मैदानमा अवार्डलाई आयोजनाको तयारी थालेका छौं ।’
अवार्डमा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने मञ्चका कोषाध्यक्ष नवराज पनेरुले बताए । उनका अनुसार उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफटाईम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाईफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने कोषाध्यक्ष पनेरुले बताए ।
यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी प्रदान गरिनेछ । यस्तै अवार्डलाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले साथ दिएको छ ।
अवार्ड कार्यक्रमलाई हरेक बर्ष प्रवर्द्धन गर्दै आएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले यसपाली पनि मुख्य प्रवर्द्धक भएर साथ दिएको छ ।
