अन्नपूर्ण म्याराथनमा हरि र रशिला सहभागि हुँदै

पोखरा स्पोर्टस । तेश्रो अन्नपूर्ण म्याराथनमा हरिकुमार रिमाल र रशिला तामाङ सहभागि हुने भएका छन् ।

नेपाल आर्मीमा कार्यरत हरि दोश्रो अन्नपूर्ण म्याराथनका विजेता हुन् भने रशिला युरोपमा हालै भएको युटीएमआर रेसकी स्वर्ण पदक बिजेता हुन् । यहि जेठ १७ देखि २० गते सम्म आयोजना हुने तेश्रो अन्नपूर्ण म्याराथन/अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८० अन्तर्गत हुने म्याराथनतर्फ मंगलबार सम्म ३० जनाले नाम दर्ता गराएको कार्यक्रमका संयोजक ललित गुरुङले पोखरा स्पोर्टसलाई बताए । म्याराथनमा २२ पुरुष ८ महिलाले आफ्नो नाम दर्ता गराएका छन् ।

पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ वि.सं. २०७५ देखि आरम्भ गरिएको विश्वकै चर्चित म्याराथन मध्येको एक ‘तेस्रो अन्नपूर्ण म्याराथन/अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८०’ सुरु हुन एक साता मात्रै बाँकी हुँदा ३० जनाले नाम दर्ता गराएको संयोजक गुरुङले जनाए । “नाम दर्ता गर्ने दिन अझै ६ दिन बाँकी छ” संयोजक गुरुङले भने–“अझै धावकहरुको संख्या उत्साहजनक रुपमा थपिनेमा हामी विश्वस्त छौं ।” ढिलो गरी कार्यक्रम घोषणा हुँदा सोच अनुरुप विदेशी धावकको सहभागिता नरहे पनि ५ देशका विदेशी धावक सहभागि हुने निश्चित भएको उनले जनाए ।

अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धन गर्न पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गर्दै आएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वरा अन्नपूर्ण आरोहण दिवस अर्थात् अन्नपूर्ण डे को अवसरमा वि.स. २०७५ सालदेखि आरम्भ गरिएको म्याराथन गत वर्ष कोभिड–१९ का कारण हुन सकेको थिएन । अन्नपूर्ण म्याराथन जेठ २० गते अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथन, माछापुच्छ्रे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै पर्यटकिए गाउँ घान्द्रुकमा समापन हुने छ ।

विशेषतः सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई “अन्नपूर्ण आरोहण दिवस” मनाउने गरिन्छ । सोही दिनको सम्झनामा अन्नपूर्ण म्याराथन हुने भएकाले यसको छुट्टै ऐतिहासिक गरिमा रहेको संयोजक गुरुङले बताए ।

यस्तै महोत्सव अन्तर्गत हुने गाउँपालिकास्तरिय पुरुष भलिबलमा विजेता टोलीले नगद ८० हजार र उपविजेताले नगद ५० हजार प्राप्त गर्नेछन् भने खुल्ला पुरुष बास्केटबल तर्फका विजेताले नगद रु ८० हजार र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अन्नपूर्ण म्याराथन/अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८० सम्पन्न गर्नका लागि करिब ८० लाख रुपियाँ लाग्ने अनुमान आयोजकले गरेको छ । महोत्सव सम्पन्न गर्न ५०१ सदस्यीय रहेको मुल व्यवस्थापन समिति, ३१ वटा बिभिन्न उपसमिति गठन गरिएको घान्द्रुक होटल व्यवस्थापन समितिका अध्यक्ष बिक्रम गुरुङले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close