
पोखरा स्पोर्टस । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १६ औं संस्करणको हिसान स्पोर्टस मिटको तयारी सुरु भएको छ ।
शिक्षाको विकास संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अघि बढाउन स्पोर्टस मिटको आयोजनाका लागि तयारी सुरु गरिएको हिसान कास्कीले जनाएको हो । स्पोर्टस मिट अन्तर्गत विद्यालय, कलेज र विश्वविद्यालयतर्फ गरी विभिन्न चार खेलका छुट्टा–छुट्टै प्रतिष्पर्धाहरु आयोजना हुनेछन् ।
हिसान स्पोर्टस मिट यहि मंसिर १४ गतेबाट पोखरा रंगशालामा अनौपचारिक रुपमा सुरु हुने हिसान कास्कीका निवर्तमान अध्यक्ष एवं स्पोर्टस मिटका संयोजक डा रामजी शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताले यूवा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने संयोजक शर्माले बताए । उनले भने–“यो प्रतियोगिताका लागि मात्रै आयोजना होइन । विद्यार्थीहरुलाई खेलकुद मार्फत उनीहरुको क्षमता अभिवृद्धि गर्नु हो भने दोश्रो तर्फ यूवा खेलाडी उत्पादन गर्नु हाम्रो प्रमुख उद्धेश्य हो ।”
हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने स्पोर्टस मिटका संयोजक डा.शर्माले जनाएका छन् ।
१६ औं संस्करणको हिसान कास्की स्पोर्टस मिटलाई सहयोग गर्नका लागि आह्वान गर्दै स्पोर्टस मिटमा ८ हजार विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रहने हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काले जनाएका छन् ।
मंसिर १७ गते सम्म सञ्चालन हुने हिसान कास्की स्पोर्टस मिटमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा आवद्ध रहेका विद्यालय, कलेज र विश्वविद्यालयका ७२ शिक्षण संस्थाका विद्यार्थीहरुको सहभागिता हुनेछ । सो अन्तर्गत ९ बटा विश्वविद्यालय रहेका छन् ।
