एसियन पारा गेम्स : पावर लिफ्टिङ, एथलेटिक्स र पौडी

पोखरा स्पोर्टस । नेपालका दुर्गामान तामाङ चौथो एसियाली पारा खेलकुदअन्तर्गत पावर लिफ्टिङमा बुधबार समग्रमा १२ औं भएका छन् ।

प्रतियोगितामा १२ खेलाडीनै सहभागी थिए । चीनको हाङझावस्थित एक्सएससी जिम्न्याजियममा भएको पुरुष ७२ केजीमुनि समूह ‘बी’ मा दुर्गाले पहिलो लिफ्टमा ८५ केजी भार वहन गरेका हुन् ।

दोश्रो र लिफ्टमा उनले समान ९१–९१ केजी वजन उठाउने प्रयास गरेका थिए । तर, उनी सफल भएनन् । यदि उनले ९१ केजी वजन उचाल्न सफल भएको राष्ट्रिय कीर्तिमान हुने प्रशिक्षक सञ्जय महर्जनले जनाएका छन् । उनकै नाममा ९० केजीको राष्ट्रिय कीर्तिमान छ ।

दुर्गाको चुनौती समाप्त भएपछि पावर लिफ्टिङमा नेपालको यात्रा टुंगिएको छ ।

नेपालबाट पावर लिफ्टिङमा २ पुरुष खेलाडी सहभागी थिए । दुर्गा भन्दा अघि प्रतिस्पर्धा गरेका पवन घर्ती मगरले ४९ केजीमुनि ७६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ७५ केजीको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए ।

एथलेटिक्स
एथलेटिक्सको पुरुष टी– ४७ क्याटगोरीको १ सय मिटर दौडको आफ्नो हिटमा नेपालका साङबु भोटे बुधबार सातौं भएका छन् । उनले निर्धारित दूरी १६.५७ सेकेन्डमा पूरा गरे । उनको हिटमा सातै खेलाडी सहभागी थिए ।

एचएससी रंगशालामा भएको उक्त स्पर्धाको दुई हिटमा जम्मा १४ खेलाडी सहभागी थिए । साङबु समग्रमा १३ औं भए । उक्त नतिजासंगै साङबु फाइनल चरणलाई छनोट भएनन् । हिटमा भारतका दिलिप महादु गाभिट ‘डिस्क्वालिफाइ’ भए ।

पौडी
पौडीको एस ९ क्याटगोरीको ५० मिटर फ्रिस्टायलको आफ्नो तेश्रो हिटमा नेपालका भीमबहादुर कुमाल बुधबार अन्तिम छैटौं स्थानमा रहे । उनले निर्धारित दूरी तय गर्न ३५.४९ सेकेन्ड समय खर्चिए ।

एचओसी एक्वेटिक स्पोर्ट्स एरिनामा भएको उक्त स्पर्धामा तीन हिट भएको थियो । तीनै हिटको नतिजा सार्वजनिक हुँदा भीम समग्रमा १६ औं स्थानमा रहँदै फाइनललाई छनोट हुन सकेनन् । अन्तिम स्थानमा रहेका बंगलादेशका रहमान नफियुर खन्दाकर १७ औं भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close