अल नेपाल अन्तर वडा टेबलटेनिस सुरु

पोखरा स्पोर्टस । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा ललितपुरमा अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता सुरु भएको छ ।

भक्तपुर र ललितपुरको २ वटा वडा तेश्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पहिलो दिन बुधबार महिला टिम इभेन्टमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित कराते हलमा भइरहेको प्रतियोगितामा भक्तपुरको २ र ५ तथा ललितपुरको १७ र १२ वडा सेमिफाइनलमा पुगेका हुन् ।

प्रतियोगिताको बागमती प्रदेशका सांसद् मीनकृष्ण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगितामा करिब ४ सय खेलाडी सहभागी छन् । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । पुरुष/महिला सिंगल्स र टिम, यु–१६ ब्वाइज/गल्र्स सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान ४० वर्षमाथि सिंगल्समा खेल हुनेछ ।

टिम इभेन्ट बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यले जानकारी गराएका छन् । पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । बाँकीमा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा सुमन खड्गी तथा सह–प्रायोजकमा नदिमरत्न शाक्य रहेका छन् । प्रायोजकमा ललितपुर महानगरपालिका, ललितपुर जिल्ला खेलकुद विकास समिति र गोदावरी नगरपालिका रहेका छन् । आधिकारिक बल डीएचएस तथा पोशाक गोर्खा एथलेटिक्सले प्रायोजन गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close