
पोखरा स्पोर्टस । पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई टुडेज मिनरल वाटरले सहकार्य गर्ने भएको छ ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने आगामी फागुन ५ गते आयोजना हुने १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई टुडेज मिनरल वाटरले सहकार्य गर्ने भएको हो ।
पोखरा २५ स्थित याम्दीमा सिएम वेभरेजद्वारा उत्पादित ‘टुडेज मिनरल वाटर’ पोखराको पुरानो मिनरल वाटर कम्पनी समेत हो ।
सिएम वेभरेजका संस्थापक किरणलाल श्रेष्ठ पोखराकै गौरव खेलकुद कार्यक्रम मध्येको एक पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई टुडेज मिनरल वाटरको सहकार्य रहने बताए । “यो हाम्रो लागि पनि गौरवको विषय हो । हामी पोखरा म्याराथनलाई सफल बनाउन सहकार्य गर्दैछौं,”–उनले भने । समाजसेवी श्रेष्ठ रोटरी क्लबका पूर्व डिष्ट्रिक्ट गर्भनर समेत हुन् ।
पोखरा टुडेज मिनरल वाटरले पोखरा म्याराथनलाई सहकार्य गर्ने भएपछि मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले आभार व्यक्त गरेका छन् । उनले भने–“पोखरा म्याराथन पोखरेलीहरुको समेत साझा खेलकुद कार्यक्रमको रुपमा अघि बढेको छ । म मञ्चको तर्फबाट पोखरा म्याराथनलाई सफल बनाउन सम्पूर्ण उधोगी, व्यवसायी र संघ÷संस्थाहरुलाई सहयोगका लागि आग्रह गर्छु ।”
पोखरा अन्तर्राष्ट्रिय म्याराथन नेपालकै जेठो म्याराथन समेत हो । पोखरा म्याराथन अन्तर्राष्ट्रिय म्याराथनहरुको छाता संस्था ‘एम्स’को सदस्यता प्राप्ती संगै विदेशी धावकहरुको संख्यामा समेत हरेक वर्ष वृद्धि हुँदै गएको छ । गत वर्ष ३० भन्दा वढि देशका धावक सहभागि रहेको तथ्याङ्क छ ।
