
केशव पाठक/पोखरा,
भनिन्छ एथलेटिक्स ‘मदर अफ स्पोर्टस’ हो । एथलेटिक्स विना अरु खेल फिक्कानै हुन्छन । त्यही एथलेटिक्स खेलमा गण्डकी प्रदेश अर्थात त्यसको केन्द्र पोखराले इतिहास कायम गरेको छ । इतिहासमा माछापुच्छ्रेको काख पोखराले एथलेटिक्समा कोरेको बाटो स्वर्णिम अक्षरमा दर्ज छ ।

पोखरामा एथलेटिक्स खेलाडी उत्पादन गर्न तत्कालिन अम्मरसिंहको सोल्जियर्स बोर्ड हाई स्कुल र वगरको मल्टिपर्पोज हाइस्कुलको ठुलो योगदान छ । पोखरा आफै पनि लाहुरेहरुको वस्ती । लाहुरे बन्न दौड पहिलो आवश्यक्ता । त्यसैैले पनि पोखरामा उही बेला देखिनै ट्रयाक एण्ड फिल्डमा अव्व्लनै थियो । राष्ट्रिय एथलेटिक्स प्रतियोगिता, विरेन्द्र शिल्ड जस्ता प्रतियोगिताले एथलेटिक्स लगाएत अन्य खेलकुदका खेलाडी उत्पादन गर्न ठूलो भुमिका खेल्यो ।

८३ वर्षमा आफ्ने पाइला चाल्दै गरेका रुद्रनाथ पौडेलको नाम एथलेटिक्समा सम्मानका साथ लिइने नाम हो । मल्टीपर्पोजमा अध्ययनरत हुँदा २००७ बाट नै एथलेटिक्समा छिरेका पौडेलको उपनामनै मृग थियो । मृग जस्तो दौडने उनी तत्कालिन गण्डकी अञ्चल बाट प्रतिनिधीत्व गरे । जति दौडे खाली खुट्टा नै दौडे । जुता लगाएर दौडने भनेको आकाशको फल जस्तै थियो । कुनै कुनै लाहुरेहरुले छेट्टीमा आउँदा किल्ला भएको स्पाइक जुता ल्याउँथे । लाहुरेहरुले दिएको साइज नमिल्ने । तुना कस्ने अनि बाहिर बाट कपडाले बेरेर कसिलो बनाउने । तर यो गर्दा एकदमै झञ्झटिलो । उनले खाली खुट्टा नै दौडे ।

१००, ३००० र ५००० मिटरमा रुद्रनाथले ख्यातीनै कमाए । मैदानमा उनी उत्रनु अघि प्रतिष्पर्धीहरु ‘त्यो बाहुन आको छ की छैन’ भन्दै आँखा घुमाउने गरेको रमाइलो गाथा उनी सुनाउँछन । उनलाई मैदानमा देखे पछि सबैको सातो जान्थ्यो रे । स्वर्ण पदक संधै उनको कव्जामा पथ्र्यो । सधै खाली खुट्टा दौडने उनी वि.सं २०१३ मा हालको फुलवारी व्यारेकमा महेन्द्र उत्सव हुन्थ्यो । दौडने कुतकुती लागेका उनी ४०० मिटरमा दौडे । न त प्रशिक्षण न त केही । १०० मिटर सम्म राम्रै दौडे तर पछि दौडनै सकेनन । पछि एक जनाले सिकायो । पहिला विस्तारै अनि अन्तिममा वेस्सरी । बल्ल ज्ञान पाए दौडने ।

विसं २०१६ सालमा पहिलो पटक काठमाडौमा एथलेटिक्सको पहिलो राष्ट्रिय प्रतियोगिता शुरु भयो । २०१७ मा सम्पन्न दोश्रो राष्ट्रिय एथलेटिक्समा १०० र २०० मिटरमा चन्द्र सिंह, ८०० मिटरमा रुद्रनाथ पौडेलले सहभागिता जनाए । रुद्रनाथले २०२९ सम्म भएका राष्ट्रिय एथलेटिक्स प्रतियोगिताहरुमा १५००, ३००० र ५००० मिटरमा सहभागिता जनाएका थिए । उनी त्यो बेलाका च्याम्पियन हुन । शटपुट र डिसकस थ्रोमा सुक बहादुर गुरुङको नाम अग्रपक्तीमा आउँछ । रुद्रनाथ आफैपनि लङ्गजम्पमा सहभागिता जनाउँथे । तर जुता नभएका कारण लङ्ग जम्पमा खासै राम्रो नतिजा नआएको उनी बताउँछन । स्व. रामकृष्ण गुरुङ ज्याभलिन र डिस्कसमा र नर बहादुर गुरुङ शटपुटका उत्कृष्ट खेलाडी थिए ।

“अहिले त शरिर ढिकी जस्तो भएर बसेको छ । दौडन मन त अझै छ नी किन नहुँदो हो र?” रुद्रनाथ आफ्नो जिवनकालको इतिहास सम्झिर्दै भन्छन–“उहिले नेपालको पहिलो नम्वरको गोल किपर, दौडमा त्यस्तै ।” अहिले पनि फुटबल हेर्दा किपर तिर उनको ध्यान जान्छ । आफै किपर भए त गोल जोगाउँछु जस्तो लाग्छ उनलाई । क्याम्पस पढ्दा होस वा गण्डकी बाट खेल्दा रुद्रनाथ जहिले पनि अव्वलनै रहे ।

२०२२ देखि २०२९ सम्म .पोखराको एथलेटिक्समा पछि उदय भएको नाम हो योगेन्द्र बहादुर बस्नेत । २०० मिटरका च्याम्पियन बस्नेत संगै १०० मिटरमा स्व. आनन्द बहादुर थापा, स्व. सिबी कार्की, गणेश कार्की, गणेश सेरचन, पुर्ण बहादुर पुन, बाबुराम पुन, श्री बहादुर घले, गोप बहादुर श्रेष्ठ लगाएत अग्रपंक्तीका खेलाडी थिए । यि खेलाडीहरु मध्ये २०२९ सम्म झपट बहादुर राना मगर, महेन्द्र बहादुर क्षेत्री, स्व.पूर्ण बहादुर रानाभाटले पनि गण्डकीको प्रतिनिधीत्व गरे ।

२०२५ मा काठमाडौमा सम्पन्न राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको एउटा घटना सम्झिँदै रुद्रनाथ भन्छन–“एकजना भर्खरै इजरायल बाट हर्डलमा प्रशिक्षण लिएर आएको खेलाडी थियो । उ संगै हर्डलमा गण्डकी बाट आनन्द बहादुर बानिया समेत सहभागी थिए । फाइनल खेल थियो । सिठी फुक्यो खेलाडी दौडे । पोखराका आनन्दले जिते ।” रमाइलो के भएछ भने उसलाई सबैले गाली गर्न थालेछन । उ भने मैदानमानै डाको छोडेर रोएछ । आनन्द र पोखराका अन्य खेलाडी भने मेडल लिएर रमाउँदै आफ्नो बाटो लागेछन । विदेशमा सिकेको लाई पोखराको मुढेबलको खेलाडीले जित्दा राम्रै चर्चा पाएको उनी सुनाउँछन ।

२०१९ मा सम्पन्न चौथो राष्ट्रिय एथलेटिक्स् प्रतियोगितामा गणेश कार्कीले तत्कालिन राजा महेन्द्र विर विक्रम शाहदेवको हात बाट मेडल थापेको आज जस्तै लाग्ने उनी बताउँछन । तत्कालिन एथलेटिक्स संघको अध्यक्ष नर शम्सेर राणा थिए । अहिले जस्तो यातायात सुविधा थिएन । पोखरा बाट डेकोटा जहाज चढेरनै खेलाडी सहभागिता जनाउन काठमाडौ, भैरहवा, नेपालगञ्ज, विराटनगर, झापा पुग्थे । कार्की गण्डकी र धौलागिरी बाट त्यो बेलाका उत्कृष्ट खेलाडी घोषित समेत भएका थिए ।

२०१८ मा पोखराको एथलेटिक्समा खड्ग बहादुर रानाभाटको उदय भयो । उनी लामो दुरीका घोडा थिए । उनी संगै सोमनाथ भुर्तेलको नाम पनि एथलेटिक्समा सम्मानका साथ लिने गरिन्छ । सन १९७० मा बैंककमा हुने छैटौं एसियाली खेलकुदमा सहभागिता जनाउने भन्दै खडग रानाभाट, सोमनाथ भुर्तेल र योगेन्द्र बहादुर बस्नेत क्लोज क्याम्प काठमाडौमा बसे । तर बस्नेत र भुर्तेल बैंकक जान सकेनन । एसियाली खेलकुदमा स्टिपलमा सहभागी भएका रानाभाट आठौं स्थानमा आए । १९७२ को म्युनिख ओलम्पिकमा सहभागिता जनाउन पाए पनि उनको खुट्टा भाँच्चिए पछि उनको ओलम्पिक खेल्ने सपनामा विराम लाग्यो ।

छैटौ यसियाली खेलकुदमा जाँदा सम्म कुनै ट्रयाक थिएन रे । न त राम्रो जुत्ता नै थियो । “उती बेला खुट्टामा जुत्ता त कता हो कता?” आफ्नो उती बेलाको सस्मरण सुनाउँदै भन्छन–“२०२७ सालमा दशरथ रंगशालामा खेल्न जाँदा रंगशाला बाहिर ७ रुपैँयामा भारतमा उत्पादित डग कम्पनीको जुत्ता पाइन्थयो” उनी थप्छन–“३००० मिटर एक पटक हान्दा जुत्ताको तलुवाले आकाश देख्थ्यो । अनि तलुवामा छाला राख्यो अनि दौड्यो ।” कठिन थियो त्यो बेलाको खेलाडी जिवन तर उनीहरुमा एक तमासको समर्पण थियो । खेल भावना थियो । अनुशासन थियो । त्यसैले खेल जिवन्त थियो । अर्थात एथलेटिक्स पोखरामा बाँचेको थियो ।
२०३१ सालमा विराटगरमा सम्पन्न राष्ट्रिय एथलेटिक्समा दिनेश श्रेष्ठ, झपट रानाभाट, बुद्धीबहादुर गुरुङ, उदय बहादुर बस्नेत, नन्दु रानाभाट, धुर्व श्रेष्ठ, खेम गुरुङ र कृष्ण बहादुर गुरुङ, फत्त बहादुर जिशी, शर्तराज श्रेष्ठले सहभागिता जनाएका थिए । उनीहरुले एथलेटिक्सका विभिन्न इभेन्टमा सहभागिता जनाउँदै गण्डकीलाई पहिलो स्थानमा उभ्भाए ।

एथलेटिक्समा गज बहादुर गुरुङ र सूर्य थापाले पोखरालाई एथलेटिक्समा लामो समय सम्म प्रतिनिधीत्व गरिरहे । पछिल्ला दिनमा २०३८ पछि एथलेटिक्सले उल्लेखनिय स्थान हासिल गर्न सकेन । खेलाडीहरु खासै उत्पादन हुन सकेनन । जति थिए सबै मुढेबलले खेले अनि जिते । गज संगै पोखराको एथलेटिक्समा कल्याण पालिखे, दिपेन्द्र कार्की, सप्त केसी, रमेश कर्माचार्य, कल्याण थापा, अनिल सिंह पनि मैदानमा देखा परे । जित्नेहरुमा प्राविधिक ज्ञानको कमी रहेको बताउँछन गज । गज र सूर्य पछि पोखराको एथलेटिक्सको मैदान तताउने जिम्मा बोके हरि बरुवाल, अमर पुन, हरि थापा, विश्व तण्डुकार र राम ढकालले ।

(२०३६ सालमा काटमाडौमा सम्पन्न राष्ट्रिय एथ्लेटिक्समा तत्कालिन गण्डकी अञ्चलको टिम)
पोखरामा महिला एथलेटिक्स खेलाडीको नाम मध्ये काशी पालिखे, चन्द्रा केसी, सरिता मर्सानी, पार्वती कुवर, राधा कर्माचार्यको नाम समेत अग्रपक्तीमा आउँछ । उनी संगै पार्वती जिशीले पनि महिला एथलेटिक्स खेलाडीको बिँडो थामिन । २०४० मा पोखरामा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुदमा नारायणीले २०० र ४०० मिटरमा राष्ट्रिय रेकर्डनै ब्रेक गरेकी थिइन । उनले पुष्पा भट्टको नाममा रहेको रेकर्ड व्रेक गरेकी थिइन । महिला खेलाडीमा नारायणी थापाले १९८२ को नवौ एसियाली खेलकुदमा समेत सहभागिता जनाइन ।

(२०३६ सालमा सम्पन्न राष्ट्रिय एथ्लेटिक्समा जित पछि धिरेन्द्र शाहबाट मेडल ग्रहण गर्दै रिम बहादुर रानाभाट)
नेपालमा सम्पन्न पहिलो दक्षिण एसियाली खेलकुदमा ज्वाला थापा, नारायणी थापा, पुष्पा श्रेष्ठको सहभागिता रह्यो । २०४३ सालमा इन्द्रा मल्ल र उनकी बहिनी सपना मल्ल, टिका बोगटी एथलेटिक्समा उदाय । सपना २०४३ मा सम्पन्न एथलेटिक्स राष्ट्रिय प्रतियोगिता शटपुट तर्फ सर्वोत्कृष्ट भइन । केही वर्षको एथलेटिक्स खेल जिवन पछि उनी तेक्वान्दो तर्फ सर्मपित भइन ।
इन्द्रा र ज्वालाले तेश्रो साग समेत सहभागिता जनाए । इन्द्रा १५००, ३००० र ५००० की धाविका थिइन । उनीहरु संगै गण्डकी बाट पुरुष खेलाडीमा सोम प्रकाश मानन्धर र विजय श्रेष्ठको नाम पनि आउँछ । इन्द्राले १९९८ को सातौं साग भारतमा म्याराथनमा सहभागिता जनाइन । तर उनी वाकिङ इभेन्टकी उत्कृष्ट खेलाडी हुन । पछि कालन्तरमा भलिवलकी उत्कृष्ट खेलाडी सिपोरा गुरुङल कुनै बेला ४०० मिटर दौडकी उत्कृष्ट खेलाडी थिइन ।
२०४३ देखि २०५५ को यो बाह« वर्षको अवधीमा गण्डकी बाट सोम मानन्धर, सोम राना, विश्व भण्डारी, ज्ञान बहादुर बोहरा, विष्णु कुमार श्रेष्ठ, टेक नारायण बराल र लोक बहादुर अधिकारीले ट्रयाक एण्ड फिल्डलाई अगाडी बढाइरहे । २०५५ देखि २०६५ सम्म नेपालमा बढ्दो राजनितिक द्वन्दका कारण एथलेटिक्समा विराम लाग्यो । तर पनि यो विचमा हरि तिमिल्सिना र जिवन बाटाजुको नाम यो विचमा अंग्रपक्तिमानै रह्यो ।
२०६५ देखि यता केही नयाँ खेलाडीहरु उत्पादन भए । रेशम कुमाल, सिद्धान्त अधिकारी, मनिषा अधिकारी, कल्पना श्रेष्ठ, प्रकाश राना मगर, अभिषेक गुरुङ, तिलक राम थारु, सन्दिप गुरुङ अनिषा थापा मगर, नविन गुरुङ, सुमिन छिन्ताल र अनिष थापा मगर ।
कुनै बेला एथलेटिक्समा लगातार तिन पटक सम्म च्याम्पियन भएको गण्डकीको एथलेटिक्स मृत प्राय छ । न त खेलाडी छन भएका पनि उत्कृष्ट छैनन । “उनीहरुमा खेलप्रती समर्पण, अनुशासन र गतिशिलता छैन” भन्छन अग्रज खेलाडी खड्ग रानाभाट । “प्रविधी छ, भत्ता छ, ड्रेस छ, सुविधा सम्पन्न मैदान छ” तर उनीहरु खेलप्रती लगाव छैन । सिनियरलाई खेलाडीको सम्मान, जुनियरलाई माया, प्रशिक्षक संग आदरभाव नभए सम्म खेल अगाडी वढन नसक्ने उनको भनाई छ । माछापुच्छ्रेको काखमा कुनै बेला चम्किएको एथलेटिक्सको शाख उठाउन निकैै मेहनत र समर्पण चाहिने अग्रज खेलाडी बताउँछन ।
फायल तस्विरः सुदर्शन रञ्जित
