
पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य तथा समाजसेवी जोनी पाहारीलाई मञ्चले बिहिबार स्वागत गरेको छ ।
आफ्नो कर्मथलो स्कटल्याण्डबाट आएका पोखरा ६ बैदाम निवासी पाहारीलाई मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले मञ्चको सचिबालयमा स्वागत गरेका हुन् । पाहारी पोखरा म्याराथनका सहयोगी समेत हुन् । सो अवसरमा स्वागत गर्दै मञ्चका अध्यक्ष पराजुलीले सबैको साथ र सहयोगले नै पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल भएको बताए । पोखरा म्याराथन खेलकुदको कार्यक्रम मात्रै नभई खेलकुद मार्फत पोखराको पर्यटन प्रवर्द्धनका लागि समेत रहेकोले यसको महत्व छुट्टै रहेको बताए ।
पोखरा म्याराथनलाई स्कटल्याण्डमा प्रचार प्रसार गर्न र आगामी फागुन ५ गते हुने म्याराथनमा सहभागिताका लागि उनले आग्रह समेत गरे । उनले भने–“हामीले विदेशी खेलाडी मात्रै होइन त्यहाँ बस्ने नेपालीहरुलाई पनि फागुन ५ गतेको म्याराथनमा सहभागिताका लागि आउन आह्वान गर्दछौं ।”
कार्यक्रममा आफ्ना भनाई राख्दै पाहारीले मञ्चको एक सदस्यको रुपमा पाउँदा निकै खुसी लागेको बताउँदै १८ औं संस्करणको पोखरा म्याराथन अन्तर्गत हुने भेट्रान पुरुषतर्फको प्रथम पुरस्कार राशी नगद रु १५ हजार सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । “यो हाम्रो आफ्नै कार्यक्रम हो । पोखराको लागि मात्रै नभई देशकै लागि पनि हो । हामी सबैको सानो सहयोगले नै यसको गरिमा बढ्नेछ ।” आफू कर्मथलो फर्किए संगै पोखरा म्याराथनको प्रचार प्रसारमा सहयोग गर्ने उनको भनाई थियो ।
सो अवसरमा मञ्चका सचिव केशव पाठक, कोषाध्यक्ष महेश पौडेलको सहभागिता रहेको थियो ।

आभार टीमका साथीहरूलाई..