
पोखरा स्पोर्टस । भारतिय लिजेण्ड फुटबलर श्याम थापाले आफू पोखरा आउँदा निकै खुसी लाग्ने बताएका छन् ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च र बगर भाइ खलक पोखराले सोमबार उनको स्वागत र सम्मानमा आयोजिक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । १३ वर्षको उमेरबाट आफू फुटबल मैदानमा छिरेको अनुभव राख्दै अन्तर्राष्ट्रिय फुटबल खेलाडी थापाले पोखरा म्याराथन र बगर भाइ खलक एट ए साइड प्रतियोगितामा आफू आउने प्रतिवद्धता समेत जनाए ।

‘पोखरा मेरो लागि स्विजरल्याण्ड हो, यहाँ आउँदा खुसी हुन्छु’ भन्दै दक्षिण एसियाका नै फुटबलका महारथी थापाले भने–‘अझै त्यसमा खेलकुद समेटिंदा मेरो लागि पोखरा भ्रमण अझै विशिष्ट हुने छ ।’ आफूलाई सम्मान दिएको प्रति दुवै संस्था प्रति आभार व्यक्त गर्दै आफूले नेपालमा आएर समेत प्रशिक्षण दिएको क्षण अझै पनि उत्तिकै ताजा रहेको बताए । उनले भने–“फुटबल मैदानमा मात्रै खेलिन होइन । यसमा धेरै फिलिङ्सहरु जोडिएका छन् । ति सबै कुराले हामीलाई बाँधेको छ ।”
खेलकुदबाट रिटायर्ड भन्ने शब्द नहुने उल्लेख गर्दै आफू ७६ वर्षको उमेरमा समेत उत्तिकै सक्रिय रुपमा विकास र प्रवर्द्धनमा लागि परेको बताए । “अहिले धेरै बालबालिका मोवाइलमा भुल्दा खेलाडी उत्पदानमा बाधा परेको छ, आफूहरुले उमेर समुहमा बालबालिका लाई राखेर प्रशिक्षण दिंदै आएका छौं”–उनले भने–“ति बालबालिकालाई भेट्रान प्रशिक्षकहरुले प्रशिक्षण दिंदै आएका छन् । यसले भेट्रानहरु समेत खेलकुद विकासमा जोडिने बाटो खुल्नेछ ।”
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले फुटबलका महारथी थापालाई पोखरा म्याराथनमा निमन्त्रण गर्न पाउँदा खुसी लागेको बताउँदै उनीबाट खेलकुद क्षेत्रले सिक्नु पर्ने बताए ।
बगर भाइ खलकका अध्यक्ष तथा मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ मञ्चका सल्लाहकार महेश गुरुङले समेत सो अवसरमा भनाई राख्दै दक्षिण एसियाकै फुटबलका हस्ती थापालाई पोखरामा स्वागत गर्न पाउँदा आफूहरु गर्वित रहेको बताए ।
यसै बिच, दक्षिण एसिया फुटबलका महारथी श्याम थापाले सहारा एकेडेमीको अवलोकन गरेका छन् । सहारा क्लब पोखराद्वारा दोबिल्लामा सञ्चालित उक्त एकेडेमीको आइतबार अवलोकन गर्दै थापाले त्यहाँ आश्रित बालकहरुलाई राष्ट्रिय फुटबल खेलाडी बन्नुपर्ने भन्दै उत्प्रेरणा दिए । साथै, आहा रारा पोखरा गोल्ड कप प्रतियोगितामा एउटा सशक्त टिम सहभागी गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।
