
पोखरा स्पोर्टस । सहारा क्लब पोखराको भातृ संस्था सहारा क्लब हङकङले १२ जनालाई आजीवन सदस्यता प्रदान गरेको छ ।
संस्थाको गत सोमबार सम्पन्न ११ औं वार्षिक कार्यक्रममा उनीहरुको योगदानको कदर गर्दै आजीवन सदस्यता प्रदान गरेको हो ।
जसमा कास्कीको अर्मलाकोटका भीमबहादुर गुरुङ, अर्मलाका सुरज गुरुङ, रिभानका विकास गुरुङ, सावेतका अमृत गुरुङ, याङ्जाकोटका दुतराज गुरुङ छन् ।
यस्तै, कास्कीकै रेनु केसी, दिलबहादुर गुरुङ, डु गुरुङ, राजकुमार सापकोटा छन् । साथै, गोरखाका रोशन आलेमगर, सानु गुरुङ, पर्वतका अनिल गुरुङलाई पनि आजीवन सदस्यता दिइएको सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङले बताए ।
संस्थाका अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्व सल्लाहकार तथा आजीवन सदस्य मीनबहादुर गुरुङ, प्रमुख सल्लाहकार दुर्गाबहादुर गुरुङ (एनडी) लगायतले सामाजिक सेवामा सक्रिय सहारा क्लब हङकङलाई सफलताको शुभकामना दिए ।
सो अवसरमा संस्थाका उपाध्यक्ष सरोज गुरुङ (खम)र महासचिव कुमार गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।
सहारा क्लब पोखराको हङकङमा झैं सहारा क्लब युके र अष्ट्रेलियामा पनि शाखा विस्तारित छन् । फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लब पोखराले गत भदौ ३० मा स्थापनाको रजत जयन्ती मनाएको छ ।
क्लबले पोखराको दोबिल्लामा संचालन गरेको सहारा फुटबल एकेडेमीमा विपन्न तथा कठिन परिस्थितिका बालकहरुले निःशुल्क आवासीय सुविधासहित पढ्न र फुटबल सिक्न पाएका छन् ।
