
पोखरा स्पोर्टस । चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल मंगलबार क्वाटरफाइनलमा पराजित भएको छ । हारसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
पिङफेङस्थित झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा भारतले नेपालाई २३ रनले पराजित ग¥यो । यशस्वी जैसवालको सतकप्रेरित भारतले निर्धारित २० ओभरमा नेपालसामू दुई सय तीन रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभर नै खेल्दै ९ विकेटको नोक्सानीमा १७९ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन जोड्दै अलराउन्ड प्रदर्शन गरे । उनले १५ बलमा चार छक्का प्रहार गरे ।
नेपालले सुरुदेखि आक्रामक खेल्ने प्रयास गरे पनि सफल हुन सकेन । ३.४ ओभरमा आसिफ १० रनमा नै पवेलियन फर्किए । त्यस पछि आएका कुशल मल्लले पनि ठूला सट खेल्ने प्रयास गरे । यद्यपि, ११औं ओभरमा कुशल २९ रनमा रवि बिश्नोईद्वारा आउट भए । दोस्रो विकेटका रूपमा आउट भएका भुर्तेलले २८ रन जोडे । नवौं ओभरमा पनि कप्तान रोहित पौडेल ३ रनमै आउट भए ।
दीपेन्द्र र सन्दीप जोराले पाँचौं विकेटका लागि ४७ रनको साझेदारी गर्दै जितको आशा दिलाएका थिए । यद्यपि, १५ र १६ औं ओभरमा दुवै ब्याटर पवेलियन फर्किएपछि नेपालको जित टाढियो । दीपेन्द्र ३२ रन र सन्दीप २९ रनमा आउट भए । करण केसीले १८ रन जोडे पनि जितका लागि पर्याप्त भए । भारतको बलिङमा आवेश खान र रवि बिश्नाईले समान तीन तथा अर्शदीपले दुई र साई किशोरले एक विकेट लिँदै नेपाललाई लक्ष्य पूरा गर्न दिएनन् । त्यसअघि टस जितेको भारतले बिस्फोटक ब्याटिङ गर्दै चार विकेटको क्षतिमा दुई सय २ रनको योगफल बनायो ।
आक्रामक ब्याटिङ गरेका ओपनर जैसवालले ४९ बलमा नै सय रन जोडे । नेपाली बलरमाथि पूर्ण हाबी भएका जैसवालले आठ चौका र सात छक्का प्रहार गरे । जैसवाल १६.२ ओभरमा दीपेन्द्रद्वारा क्याच आउट भए । भारत १५० रनको बलियो स्थितिमा हुँदा जैसवाल चौथो विकेटका रूपमा पवेलियन फर्किए । भारतले पहिलो ओभरदेखि आक्रामक ब्याटिङ ग¥यो । भारतले ९.१ ओभमा नै सय रन बटुल्दै नेपाली बलरमाथि दबाब सिर्जना बनाइराखे ।
यसै ओभरको पाँचौं बलमा दीपेन्द्रले भारतका कप्तान रुतुराज गायकवाडलाई २५ रनमा आउट गर्दै पहिलो विकेट दिलाए । त्यसपछि भने नेपालले १५ औं ओभरसम्म कसिलो बलिङ ग¥यो । यस क्रममा नेपालले दुई विकेट लिँदै ३४ रन खर्चियो । यद्यपि, अन्तिम पाँच ओभर नेपालका बलरले लय गुमाउँदै ६४ रन खर्चिए । पाँचौं विकेटका लागि शिवम् दुवे र रिन्कु सिंहले ५२ रनको साझेदारी गर्दै सय रनको आँकडा पार गराए । रिन्कु ३७ रन र शिवम् २५ रनमा नटआउट रहे । यस क्रममा शिवमले १९ बलमा दुई चौका र एक छक्का र रिन्कुले १५ बलमा दुई चौका र चार छक्का हिर्काए ।
डेथ ओभरमा बलिङ गर्न आएका अविनाश बोहोराले २५ रन खचिएपछि नेपालमाथि दबाब प¥यो । माल्दिभ्सविरुद्ध ६ विकेट लिएका अविनाशले निकै खराब बलिङ गरे । चार ओभरमा उनले ५३ रन खर्चिंदा एक विकेट पनि लिन सकेनन् । नेपालका सबै बलर महँगा साबित भए । यद्यपि, दीपेन्द्रसिंहले महत्वपूर्ण दुई विकेट लिँदै कमजोर बलिङलाई साथ दिए । तीन ओभर बलिङ गरेका सन्दीपको नाममा पनि एक विकेट रह्यो ।
