
पोखरा स्पोर्टस । नेपालकी फूलमति रानाले हाझाओमा जारी १९औं एसियाली खेलकुदको १५ सय मिटर दौडमा १५औं स्थानमा टुंगाएकी छन् । १७ जना सहभागी उक्त स्पर्धामा फुलमति १५ औं भएकी हुन् ।
उनले निर्धारित दूरी ४ मिनेट ३७.६४ सेकेन्डमा पूरा गर्दै आफ्नो उत्कृष्ट प्रदर्शनको समयमा सुधार गरिन् । यसअघि उनले सन् २०२३ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियन च्याम्पियनसिपमा चार मिनेट ४९.२२ सेकेन्डको समयमा दौड पूरा गरेकी । आइतबार फुलमतिले लाओस र पाकिस्तानकी खेलाडीलाई पछि पारिन् ।
यस विधामा बहराइनकी मुतिल विनफ्रेडले स्वर्ण, भारतकी हरमिलन बेइन्सले रजत र बहराइनकै हिरपातो मार्ताले कांस्य जितिन् ।
स्क्वास
एसियाडअन्तर्गत स्क्वासको मिक्स टिम इभेन्टमा नेपाल हङकङसँग २–० ले पराजित भएको छ । हङकङले नेपाललाई २–० को सोझो सेटमा हरायो । नेपालका लागि अमृत थापा मगर र स्वस्थानी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । नेपालले पहिलो सेट ११–१ र दोस्रो ११–३ को प्रदर्शन गरेको थियो ।
पुरुष सिंगल्सको अन्तिम ३२ मा नेपालका अमृत कुवेतका अब्दुल अलमेयेनबाट ३–० को सीधा सेटमा पराजित भए । अमृत ११–४, ११–२ र ११–५ ले चुके । पुरुष सिंगल्सकै अन्तिम ३२ को खेलमा नेपालका अरहान्तकेशर सिम्ह मलेसियाका मोहमद अदिनबाट ३–० ले पराजित भए । अरहान्तले ११–५, ११–३ र ११–३ को प्रदर्शन गरे ।
नेपालकी कृष्णा थापा महिला सिंगल्सको अन्तिम ३२ बाट बाहिरिएकी छिन् । अमृतकी सहोदर बहिनी कृष्ण दक्षिण कोरियाकी जियान लीविरुद्ध ११–३, ११–० र ११–३ ले पछि परिन् ।
महिला सिंगल्सको अन्तिम ३२ मा नेपालकी विपना ब्लोन थाइल्यान्डकी चुजित वारिट्साराबाट ११–७, ११–७ र ११–८ ले हारिन् ।
