
पोखरा स्पोर्टस । बुल्समेन क्लब पोखराले लामो समय देखि बिरामी रहेका सितेरियो कराँते खेलाडी बिष्णु नेपालीलाई थप उपचारको लागि सहयोग गरेको छ ।

विगत तिन वर्ष देखि शरिरको एक भाग पक्षघातका कारण उपचार गरिरहेका उनलाई क्लवले नगद रु १० हजार सहयोग गरेको हो । पोखरा ११ फूलबारी निबासी समेत रहेको बिष्णुलाई क्लवका संस्थापक इश्वर गुरुङ, क्लवका अध्यक्ष नुना गुरुङले उक्त रकम हस्तान्तरण गरेका छन् ।
तिन वर्ष अघि पोखरा रंगशालामा नै कोभिड १९ विरुद्धको खोप लगाए संगै बिष्णुलाई पक्षघात भएको थियो । एक छोरा र आमा सहित बस्दै आएका विष्णुको आर्थिक अवस्था कमजोर रहेका कारण उनलाई क्लवले सहयोग गरेको अध्यक्ष नुना गुरुङले बताए । उनले भने–“हामी संग समेत सिमित श्रोतहरु छन् । आर्थिक सहयोग गर्नु नै हाम्रो लागि ठूलो विषय हो । तर पनि विष्णु भाईको अवस्था देखेर हामीले सहयोग गरेका हौं । म सबैलाई एक खेलाडीको समस्या बुझिदिन र सहयोग गर्न आग्रह गर्दछु ।”
विष्णुलाई सहयोग गर्दै संस्थापक इश्वर गुरुङले विष्णुको उपचारका लागि आफूले सक्दो प्रयास गर्ने बताए ।
यसै विच बुल्समेन क्लवले चौथो मिष्टर बुल्समेनका लागि नेपाल आएका क्लवका संस्थापक गुरुङलाई बिदाई गरेको छ । क्लवका अध्यक्ष नुना गुरुङ सहित क्लवका पदाधिकारी र सदस्यहरुले उनलाई बिदाई गरेका थिए ।
जन्मथलोबाट कर्मथलो हङकङ प्रस्थान गर्न लागेका उनले क्लवले खेलकुद विकास संगै सामाजिक विकासको क्षेत्रमा खेल्दै आएको भूमिका प्रति गर्व गर्दै सबैको साथ र सहयोगले चौथो मिष्टर बुल्समेन प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने बताउँदै सबैले मिलेर खेलकुदको विकासमा सहकार्य गर्न आग्रह गरे ।
