
पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ (नेकोस) समाजवादीको खेलकुद महोत्सव पोखरामा सुरु भएको छ ।
उक्त खेल महोत्सव अन्तर्गत पोखरामा दुई खेल आयोजना गरिएका हुन् । खेल महोत्सवमा पोखरामा नेपाली परम्परागत योग खेल र यूवाहरु माझ लोकप्रिय खेल स्केट बोर्ड आयोजना गरिएको छ । दुई दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले पोखरा रंगशालामा उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै मेयर आचार्यले पोखराको मात्रै नभई कास्कीको खेलकुद विकासका लागि पोखरा महानगरले आफ्ना योजना र कार्यक्रमहरु अघि सारेको बताए । उनले भने–“खेलकुदमा हार र जित स्वाभाविक हो । हामी अझै उत्कृष्ट खेलाडी उत्पादन गर्दै पोखराको समग्र खेलकुद विकासका लागि प्रतिवद्ध छौं ।”
कुनै पनि खेलकुद प्रतियोगिताका लागि खेलकुदका पूर्वाद्धार विकास पहिलो शर्त रहेको उल्लेख गर्दै मेयर आचार्यले नवौं राष्ट्रिय खेलकुदमा एउटा पनि खेलकुदका पूर्वाद्धार नवन्नु दुःख लाग्दो विषय रहेको टिप्पणी गरे ।
नेकोस समाजवादीका केन्द्रिय अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव केशव कुमार विष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपा एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष पूर्ण लामा, नेकोस कास्कीका सचिव डा. डिलाराम लामिछाने लगायतले आफ्ना भनाई राखेका थिए ।
दुई दिने प्रतियोगितामा योगा खेलतर्फ ५७ र स्केटबोर्डतर्फ महिला तथा पुरुष गरि ४६ खेलाडीहरुको सहभागिता रहेको छ । दुवै प्रतियोगिताको फाइनल खेल आइतबार सञ्चालन हुनेछन् । उद्घाटन कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु संगै तेक्वान्दो खेलाडी र स्केटबोर्ड खेलाडीहरुले प्रदर्शनी खेल देखाएका थिए ।
नेकोस समाजवादी गठन भए यता पहिलो पटक खेलकुद महोत्सव आयोजना गरिएको हो । महोत्सव अन्तर्गत १० खेलहरु सञ्चालन हुनेछन् । महोत्सवको औपचारिक उद्घाटन २० गते काठमाण्डौ र समापन २३ गते हुनेछ ।
