पोखरा फुटबल स्टेडियमको कुर्चीको संख्या २० हजार पुर्याइने, सागमा भने ८ हजार मात्रै !

केशब पाठक,
पोखरा, २३ साउन । निर्माणाधिन पोखरा रंगशाला स्थित फुटबल स्टेडियमको दर्शकका लागि कुर्चीको संख्या २० हजार क्षमताको पुर्याइने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका नवनियूक्त सदस्य सचिब रमेश कुमार सिलवालले कुर्चीको १६ हजार ५ सय क्षमता बाट बढाएर २० हजार पुर्याइने योजनाका साथ काम अगाडी बढेको जानकारी परिषदका बोर्ड सदस्य राजेश कुमार गुरुङलाई गराएका हुन । सदस्य सचिब सिलवालले २० हजार कुर्ची राख्ने गरि तोक समेत लगाइसकेको राखेप सदस्य गुरुङले जानकारी दिए ।

यस बारे जानकारी दिंदै राखेप सदस्य गुरुङले सदस्य सचिब पोखरा फुटबल स्टेडियम बारे निकै गम्भिर र चिन्तित रहेको निर्माण कम्पनीलाई छिटो काम सक्न आवश्यक निर्देशन समेत दिएको गुरुङले बताए ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भने दर्शक र भिआइपी गरि ८ हजार कुर्ची मात्रै फिटिङ गरिने निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर हरिबाबु न्यौपाने बताएका छन । ‘हामीले फिट गर्ने भनेको सबै कुर्चीहरु फ्रान्स बाट बनेर आइपुग्छन तर समय अभावका कारण हामीले सागका लागि करिब ८ देखि १० हजार सम्म कुर्ची फिटिङ गर्नेछौ’ प्रोजेक्ट म्यानेजर न्यौपानेले भने–‘तर हामीले २७ हजार सम्म कुर्ची रंगशालामा अटाउने गरि डिजाइन तयार गरेका छौं ।’

पोखरा रंगशालाको फुटबल स्टेडियममा फिक्स गरिने कुर्चीहरु फ्रान्स बाट नोभेम्वर १० तारिख सम्म पोखरा आइपुग्ने भएको निर्माण कम्पनीले जनाएको छ ।

मैदानको सबै काम स्प्रिङगुलर सिष्टम बाट काम हुने र त्यसका लागि सबै सामान हरु भारतको दिल्ली बाट अब दुई साता भित्र नेपाल आइपुग्ने प्रोजेक्ट म्यानेजर न्यौपानेले बताए । ‘प्राकृतिक घाँसे मैदानमा काम हुने भएपछि सबै कामहरु नयाँ ढङ बाट हुँदैछ तर हामी यो मैदानमा १३ औं सागको महिला फुटबल आयोजना हुनेछ भन्नेमा ढुक्क छौं’ उनले थपे–‘मैदानमा रोपिने घाँस (हरियो दुवो) समेत अर्डर भइसकेको छ, अक्टोबर १२ तारिख सम्म घाँस कलकत्ता बाट पोखरा आइपुग्छ ।’ उक्त घाँस मैदानमा सेटिङ हुन करिब ४५ दिन लाग्ने उनले बताए ।

निर्माण कम्पनीले मैदानको अन्य भागको काम सक्न केही कामदारहरु थप्ने सोच बनाएको छ । तर कहिले सम्म कामदार थपिने हुन भन्ने बारे केही पनि खुलाएको छैन । अहिले डे सिफ्टमा मात्रै करिब २०/२२ जना कामदार खटिएका छन ।

यूवा तथा खेलकुद मन्त्रालय अन्तरगत राष्ट्रिय खेलकुद परिषदले भारतको ग्रेट स्पोर्ट्स र एम.ए कन्स्ट्रक्सन जावलाखेलको जोइन्ट भेन्चर कम्पनीलाई ग्लोबल टेन्डर अनुसार १ अर्व २८ करोडमा काम गर्न २०७५ पुष १३ गते सम्झौता गरेको थियो ।

ति दुई जोइन्ट भेन्चर कम्पनीलाई ६ महिना भित्र काम सक्ने गरि २०७५ फागुन २६ गते यूवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माले शिलान्यास गरेका थिए । जस अनुसार उक्त निर्माणको काम २०७६ असार मसान्तमा सक्नु पर्ने थियो । तर अव उक्त निर्माण कार्य कार्तिकको दोश्रो साता सम्म सक्न निर्माण कम्पनीलाई परिषदले अन्तिम अल्टिमेटम दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close