
पोखरा स्पोर्टस । भारतको जयपुरमा ‘सेन्ट्रल एसिया जोन-२’ अन्तर्गत आयोजना हुने पुरुष उमेर समुह (यू–२०) र (यू–१८) आई.एच.एफ ट्रफी २०२४ मा सहभागिता जनाउने खेलाडीहरुलाई बिदाई गरिएको छ ।
गण्डकी प्रदेश ह्याण्डबल संघले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बिदाई गरेको हो । उक्त प्रतियोगिता यहि असार २६ गतेबाट ३० गते सम्म तय भएको छ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघद्वारा आयोजित प्रतियोगितामा नेपालसहित, भारत, बंगालादेश, भुटान, श्रीलंका, मालदिभ्स, यमन, अफगानिस्तान गरी ८ राष्ट्रले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा दुबै उमेर समुहमा गरी सहभागि हुने कुल २८ नेपाली राष्ट्रिय खेलाडी मध्ये गण्डकी प्रदेशबाट १९ जना खेलाडीहरुको सहभागिता रहेको छ ।
पुरुष उमेर समुह यू–२० (यूथ) अन्तर्गत कुल १४ जना खेलाडी मध्ये गण्डकी प्रदेशबाट ८ जना र (यू–१८) जुनियरतर्फ १४ जनामा गण्डकी प्रदेशबाट ११ खेलाडी रहेका छन् । सोही टिममा गण्डकीबाट दुई जना प्रशिक्षकहरुको समेत सहभागिता रहेको छ ।
पोखरामा शनिबार आयोजित एक कार्यक्रमका बीच प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले खेलाडीहरुलाई बिदाई गरे । सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले आफ्नो क्षमता प्रदर्शन गर्दै टिम गेमको भावना अनुरुप खेल्न आग्रह गरे । उनले भने–“खेलकुद मैदानमा मात्रै नभई सदभाव समेत बढाउन भूमिका खेल्छ । अहिले खेलकुदको आदर्शलाई बुुझ्ना नसक्दा खुट्टा तान्ने प्रविति बढेको छ जसका कारण खेलकुद क्षेत्र पछि परेको छ जसलाई चिर्न स्वयं खेलाडीहरु चनाखो बन्नु पर्छ ।”
खेलकुदको अनुशासनले नै समाजलाई अघि बढाउन भूमिका खेल्ने बताउँदै खेलाडी नै समाजलाई सभ्यताको बाटोमा डोर्याउन समेत भूमिका खेल्ने सदस्य सचिब शर्माले बताए । उनले जित र हारमा कति पनि नआत्तिइ खेलमा हुने हार र जितको विश्लेषण गर्दै योजना बनाउन समेत उनले आग्रह गर्दै दुबै उमेर समुहको नेपाली टोली प्रतियोगितामा बिजयी भएर फर्किनेमा आफू विश्वस्त रहेको बताए ।
सो अवसरमा सदस्य सचिब शर्माले खेलाडी र प्रशिक्षकहरुलाई खेल पोशाक समेत वितरण गरेका थिए ।
गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा, परिषदका प्रशासन प्रमुख तोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकाल, संघकी उपाध्यक्ष एवं नेपाली महिला ह्याण्डबल राष्ट्रिय टिमकी टिम म्यानेजर समेत रहेकी शान्तीबैद्य थापालगायतको सहभागिता रहेको थियो ।
को को परे टिममा गण्डकी प्रदेशबाट
यूथ (पुरुष यू–२०)
प्रलेश गुरुङ – कास्की
सुदिप घले– कास्की
निशान परियार–कास्की
मनिश बहादुर घर्ती–कास्की
जिवन पुन – बाग्लुङ
निराजन राना– बाग्लुङ
डविन जुग्जाली पुन– म्याग्दी
मिलन खवास–कास्की
त्यस्तै यू–२० पुरुषमा मनिष कार्की (कोशी), भोज बहादुर मगर (कोशी), सुजन घिमिरे (कोशी) आकृषराज शाक्य (लुम्विनी), दिपेश खड्का (लुम्बिनी) र सुमित राना (सुदुर पश्चिम) रहेका छन् ।
जुनियर (पुरुष यू–१८)
शनिस गुरुङ– कास्की
रोशन विक – पर्वत
विवेक थापा – कास्की
ऋतिक परियार – कास्की
प्रशोन विक – कास्की
केभिन गुरुङ – कास्की
निशान पुन – कास्की
सुन्दर फगामी– म्याग्दी
निरज गुरुङ – कास्की
शुसान्त देव – कास्की
हविन छन्त्याल – म्याग्दी
यसै गरी यू–१८ तर्फ नेपाली टिममा समावेश खेलाडीहरुमा मनोज थारु (लुम्बिनी), रिजन श्रेष्ठ (कोशी), चन्द्र बहादुर थापा (लुम्बिनी) रहेका छन् ।
प्रशिक्षक
टिमको मुख्य प्रशिक्षकमा कृष्ण शाक्य र विन्दा महाराजी थापा तथा प्रशिक्षकद्वयमा विशाल बस्नेत तथा दिनेश श्रेष्ठ रहेका छन् ।
