
पोखरा स्पोर्टस । नेपालमा सर्वाधिक खेलिने मध्येको खेल मध्येको एक हो भलिबल खेल । हरेक टोल–टोल वडा–वडामा अधिक रुचाएर खेलिने खेल भलिबल यति बेला पुनः चर्चामा छ । त्यो भनेको राष्ट्रिय भलिबल खेलाडीलाई मासिक तलब ।
खेलाडीलाई मासिक तलब दिने नेपाली खेल संघहरुको क्षमता भने छैन । अन्तर्राष्ट्रिय खेलका महासंघहरुले सम्वन्धित खेल संघहरुलाई दिने सहयोग बाट नै केही खेलका राष्ट्रिय खेलाडीहरुले मासिक भत्ताको रुपमा केही रकम वुझ्दै आएका छन् । नेपालको राष्ट्रिय खेल भलिबलका खेलाडीहरु भने लामो समय देखि त्यसबाट वञ्चित थिए । तर अहिले त्यो बाटो फुकेको छ ।
पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीहरुको कथाहरु सुन्ने हो भने एक जोर जुत्ता, एक जोर जर्शी, चना र आलुको तरकारी भरमा भलिबल खेलेको उदाहरणहरु प्रशस्त छन् । तर अब समयले कोल्टे फेरेको छ । सामाजिक सञ्जालको चकाचौंध र विदेशका खेलाडीहरुले पाएको सुविधा देखेर नेपाली खेलाडीहरु पनि घरको छाक कटाएर आफूलाई त्यहाँ उभ्याउन कसरतरत छन् ।
नेपाली भलिबलको कुरा होस वा नेपालमा आयोजना हुने कुनै पनि साना वा ठूला प्रतियोगिता वा कार्यक्रमहरु विदेशमा बस्ने नेपालीहरुको सहयोग नहुने हो भने ठप्प जस्तै हुन्छ । हरेक कार्यक्रममा विदेशमा बस्ने नेपालीहरुको पसिनाबाट कमाएको केही हिस्सा ति खेल कार्यक्रमहरुमा समेत पोखिएका छन् । यस्तो सहयोगमा उनीहरुको न्यानो मायाँ हुन्छ आफ्नो देशप्रतिको भावना समेटिएको हुन्छ ।
तर समयको क्रम संगै सहयोग गर्ने विषय समेत परिवर्तन भएको छ । त्यो नयाँ विषय भलिबलबाट सुरुवात भएको छ । धेरैले भन्ने गरेका छन्–“यस्तो सहयोग पो सहयोग । जुन सहयोगले खेलाडीलाई उर्जा मात्रै दिंदैन यसले नेपाली राष्ट्रिय भलिबल खेलाडीमा समेत भूमिका खेल्छ ।”
अमेरिकामा रहेर आफ्नो पसिना बगाउने पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले नेपाली राष्ट्रिय खेलाडीहरुलाई मासिक तलब दिने विषयलाई प्राथमिकतामा राख्दै प्रक्रिया अघि बढाए पछि यसको चर्चा परिचर्चा हुन थालेको छ । जुन सहयोगबाट नेपाली राष्ट्रिय भलिबल खेलाडीहरुले अब मासिक रुपमा तलब पाउने छन् । त्यसको समन्वय नेपाल भलिबल संघले गर्नेछ ।
नेपाल भलिबल संघले हालै त्यसको शुभारम्भ समेत गर्यो । तर को कसको यसमा योगदन थियो त्यो भने ओझेलमा जस्तै पर्यो । २४ जना व्यक्तित्वहरुको यसमा योगदान छ । ति मध्ये एक दर्जन भन्दा बढि त गण्डकी प्रदेशकै विभिन्न जिल्लाका छन् । उनीहरुलाई यस्तो विषय कसले सुझायो त्यो प्रश्न भने अनुत्तरित नै छ । तर उनीहरुले सुरु गरेको यात्रा भने नेपाली भलिबल खेलको विकासमा परिवर्तनको बाटो भने कोरेको छ ।
नेपाली भलिबलमा वडास्तरिय भलिबल खेल्ने अधिकांश खेलाडीहरुको जिल्ला, प्रदेश र राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता हुन चाहँदैनन् । उनीहरु ति खेलमा सहभागि हुने वित्तिकै ठूला धनराशी पुरस्कारका वडास्तरिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने नियमले उनीहरुलाई बाँधेको छ । वडास्तरिय प्रतियोगिताहरु सर्वाधिक रुपमा सञ्चालन हुने भए पछि आफ्नो जिविको-पार्जनको माध्यम ति खेलाडीहरुले बनाए छन् । खेलाडीहरुको गुनासो र प्रश्न के पनि हो भने प्रदेश वा राष्ट्रिय प्रतियोगिता खेलेर के गर्ने ?
तर अब दाताहरुको सहयोगले नेपाली भलिबल खेलको नयाँ यात्रा प्रारम्भ भएको छ । अमेरिकामा रहेर नेपाली राष्ट्रिय खेलाडीहरुको तलब प्रदान गर्न सहयोग रकम जुटाउने मध्येका हुन पर्वतका राम श्रेष्ठ । उनी यो कार्यक्रमका संयोजक समेत हुन । त्यस संगै सहयोग गर्नेमा रमिला तण्डुकार (पर्वत), रोमन श्रेष्ठ (बागमती), कैलाश दत्त (बैतडी), सिपोरा गुरुङ (कास्की), शक्ति सिंह रेग्मी (नुवाकोट), राजेन्द्र शेरचन (कास्की), सुरेन्द्र मल्ल (पोखरा), रेयान्श श्रेष्ठ (पर्वत), मनोज गौतम (रुकुम), उद्धब प्याकुरेल (काठमाण्डौ) छन् ।
त्यस्तै स्याङजाका रविन आले मगर, पर्वतका रमेश बस्नेत, दमोदर पौडेल, प्रविन भण्डारी, रमेश शर्मा र प्रकाश शर्मा, गोरखाका रमेश भट्ट, बागलुङका वुद्धि खड्का, म्याग्दीका सञ्जोक कार्की, पश्चिम रुकुमका खुम ढकाल र गोपाल खनाल, म्याग्दीका याम पुन तथा भर्जिनिया अमेरिकाको क्लव नोभा नाइटले सहयोग गरेका छन् ।
नेपाल भलिबल संघलगायत गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन कुमार गुरुङ, टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्माले उनीहरुको सहयोग प्रति आभार व्यक्त गर्दै यो सहयोगले नेपाल भलिबल खेलको विकास छुट्टै महत्व राख्ने बताएका छन् । उनीहरुले भनेका छन्–“यो सहयोगले नेपाली भलिबल खेलको विकासमा अब राज्यलाई समेत घच्घच्याएको छ । राष्ट्रका लागि खेल्ने खेलाडीहरुलाई समेत केही गर्नुपर्छ भन्ने विषयले अब प्राथमिकता पाउने छ ।”
अमेरिकाबाट भएको यो सुखद सुरुवातले नेपाली खेलकुदको विकासमा नयाँ मार्गचित्र कोर्नेमा आफू विश्वस्त रहेको गण्डकी प्रदेश भलिबल संघका उपाध्यक्ष हरि श्रेष्ठले बताए । “यो निकै महत्वपूर्ण सहयोग हो । अब नेपाली भलिबलले विकासको नयाँ बाटो पहिल्याएको छ । खेलाडीहरुलाई समेत उर्जा थपेको छ । यसको जति प्रशंसा गरे पनि कम नै हुन्छ”,–उनले भने ।
अमेरिकामा छरिएर रहेका नेपाली भलिबल प्रेमीहरुको नयाँ दृष्टिकोण सहितको यात्रा सुरु गरेको छ । जसले नेपाली भलिबल खेलको विकासमा योगदानको चर्चा जति गर्दा पनि थाक्ने शब्दाबली भेटिने छैन । यस्तो उदाहरण अन्य मुलुकमा रहेका नेपालीहरुले समेत आत्मसात गर्न जरुरी छ ।
