
पोखरा स्पोर्टस । १९ औं एसियाली खेलकुदमा पहिलो नेपाली ब्याडमिन्टन टेक्निकल अफिसियलका रुपमा नेपाली सिनियर ब्याडमिन्टन तथा राष्ट्रिय ब्याडमिन्टन रेफ्रि उदय अर्यालले सहभागिता जनाउने भएका छन् ।
चिनको हाङझाउमा यहि सेप्टेम्वर २३ देखि अक्टोबर ८ सम्म सञ्चालन हुने एसियाली खेलकुदको महाकुम्भमा अर्याल ब्याडमिन्टन अफिसियलका रुपमा जाने भएका हुन् । एसियाली ब्याडमिन्टनहरुको छाता संस्था ‘ब्याडमिन्टन एसिया’ले उनलाई एसियाली खेलकुदमा इन्टरनेशनल टेक्निकल अफिसियलमा निमन्त्रणा गरेको अर्यालले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
“१९ औं एसियाली खेलकुदमा अफिसियलका रुपमा मलाई ब्याडमिन्टन एसियाले मौका दिएको छ”, उनले भने–“यो नेपाली ब्याडमिन्टनको इतिहासमा नै पहिलो हो । मलाई ब्याडमिन्टन एसियाले प्रदान गरेको मौकालाई पूर्णरुपमा निभाउने प्रयत्न गर्नेछु ।”
बिसं २०४४ सालबाट २३ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताबाट ब्याडमिन्टनको अम्पायरिङ सुरु गरेका विराटनगर मिल्स एरिया निवासी अर्यालले त्यस पछि आफू कतै फर्किएर पछि हेर्न नपरेको बताउँदै नेपाल लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा बढि अम्पायरिङ गरेको अनुभव बटुलेका छन् । उनले सन २००० जुलाईमा जापान क्योटो देखि ब्याडमिन्टन एसियाको अम्यायरिङ सुरु गरेको बताउँदै त्यो यात्रा सन २०१९ मा आएर सकिएको बताए ।
कार्य दक्षताका आधारमा नै २०००–२०१९ सम्म एसियन ब्याडमिन्टन्को इन्टरनेशनलको टेक्निकल अफिसियलका रुपमा रहेको उनले बताउँदै सन २०१९ जनवरी २०ं२२ दिसेम्वर सम्म वर्ल्ड ब्याडमिन्टन फेडेरेशन (विडल्वुएफ)ले समेत उनलाई लाइन जजका रुपमा ४ वर्ष कार्य गर्ने मौका दिएको थियो । त्यसैको आधारमा टोकियो २०२० पारालम्पिक गेम्समा टेक्निकल अफिसियलमा समेत पहिलो नेपाली लाइन जजको रुपमा आफ्नो दक्षता प्रदर्शन गरेको बताए ।
अर्यालले नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा अन्तर्राष्ट्रिय अम्पायरिङबाट रिटायर्ड भएका थिए । १३ औं साग अन्तर्गत पोखरामा भएको ब्याडमिन्टन प्रतियागिता उनको अन्तिम रह्यो । उनलाई समापन समारोहमा सातै देशका निर्णायकहरुले आ–आफ्नो देशको झण्डा सहित उभिएर विदाई गरेका थिए ।
सोही विदाई कार्यक्रममा ब्याडमिन्टन एसियाका महासचिव नासिद मुसाको समेत उपस्थिती थियो । “त्यो विदाई कार्यक्रम मेरो जिवनका लागि निकै अविष्मरणिय रह्यो”, “सातै देशका प्रतिनिधि र ब्याडमिन्टन एसियाका महासचिवले मलाई विदाई गरे । सायद यस्तो विदाई कसैको जिवनमा प्राप्त हुन सम्भव छैन ।”
