
पोखरा स्पोर्टस । गण्डकी प्रदेश टेनिस संघको दोस्रो साधारण सभा पर्वत जिल्लाको ऐतिहासिक जलजला गाउँ पालिकास्थित मल्लाज हेरिटेजमा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले प्रदेशको खेलकुद विकास संगै संघहरुलाई सुशासन तर्फ अघि बढाउन यस प्रकारका कार्यक्रमहरु महत्वपूर्ण रहेको जनाउँदै अवको यात्रा खेल संघहरुले खेलाडी उत्पादनका लागि विशेष प्रशिक्षण कार्यक्रमहरु अघि बढाउनु पर्ने विषयमा जोड दिएका छन् ।
खेलकुदमा अवसर र व्यवसायिकता नहुँदा खेलाडीहरु पलायन भइरहेको उल्लेख गर्दै सदस्य सचिव शर्माले भने–“परिषदले अब खेल संघहरु संग सहकार्य गर्दै जुनियर खेलाडीहरु उत्पादनका लागि विशेष कार्यक्रम अघि सार्दै छौं ।”
गण्डकी टेनिसले टेनिस खेलको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आफ्ना नियमित कार्यक्रमहरु अघि सारेकोमा प्रशंसा गर्दै १० औं राष्ट्रिय खेलकुदमा ध्यान केन्द्रित गर्न आग्रह समेत गरे । उनले गण्डकी टेनिसले परिषदको सहकार्यमा खेल्छ गण्डकी कार्यक्रम मार्फत विपन्न वर्गका बालकालिकाहरुलाई टेनिस प्रशिक्षण दिएर विपन्न वर्ग सम्म खेलकुद पुर्याउनु पर्छ भन्ने नयाँ अभियानको सुरुवात गरेकोमा धन्यबाद समेत दिए ।
कार्यक्रममा पर्वत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङले गण्डकी टेनिसले पहिलो पटक पर्वत जिल्लाको ऐतिहासिक स्थलमा साधारणसभा गरेर गण्डकीको खेलकुदमा नयाँ सन्देश दिएको बताउँदै संस्थाको विकास र विस्तारमा आफ्नो पूर्ण सहयोग रहने बताए ।
गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष कायस्थले गण्डकी टेनिसले स्थापनाको छोटो समयमा नै विभिन्न कार्यक्रमहरु अघि सारेको जनाउँदै सहकार्यका लागि आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेश टेनिस संघका उपाध्यक्ष लोक बहादुर गुरुङ, परिषदका लेखा प्रमुख निलकण्ठ ढकाल, कास्की टेनिसका सचिब भिष्मराज पौडेल, सल्लाहकार गोपी भट्टराई लगायतले आ–आफ्ना भनाई राखेका थिए ।
साधारण सभामा महासचिव चालिसेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा गण्डकीलाई टेनिस हवको रुपमा विकास गर्दै ११ वटै जिल्लामा टेनिस खेलको विकासका लागि योजना प्रस्तुत गरेका छन् ।
